२० जना किशोरीले सिके सिलाई सीप

साझाकुरा
२०८० मंसिर २१, बिहीबार १०:४९

हेटौंडा- माइती नेपाल मकवानपुरले संस्थामा ४ महिनासम्म आवासीय तालिम लिएका किशोरीहरुलाई मंगलबार प्रमाणपत्र वितरण गरेको छ ।पढाई छोडेका, आर्थिक रुपमा विपन्न, बेचविखनको जोखिममा पर्न संभावना भएका वर्गका २० किशोरीलाई आधारभूत तथा एड्भान्स सिलाई सीप सिकाएको प्रशिक्षक सरिता देवकोटाले बताइन् । उनीहरुलाई नेतृत्व विकास, जीवनोपयोगी कलाबारे प्रशिक्षण गराइएको थियो । माइती नेपाल मकवानपुर प्रमुख माया लामाको अध्यक्षतामा भएको प्रमाणपत्र वितरण कार्यक्रमका हेटौंडा–४ का वडाअध्यक्ष नबीन सिग्देलले सीपलाई सदुपयोग गर्न प्रशिक्षार्थीलाई अनुरोध गरे ।

सीपले व्यक्तिलाई आत्मानिर्भर बनाउने र आत्मानिर्भरताले हिंसाबाट माथि उठ्न सहायता गर्ने भएकोले जीवनमा उर्जाशील हुन अध्यक्ष सिग्देलले आग्रह गरे । आर्थिकरुपमा सशक्त भएपछि व्यक्तिको जीवन सहज बन्छ, सीपलाई अझै समयसापेक्ष बनाउन युट्युबबाट समेत ज्ञान लिन सकिने सिग्देलले बताए ।कार्यक्रममा मानव अधिकार संरक्षण तथा बेचविखन विरुद्धको जिल्ला सञ्जाल अध्यक्ष आरती पाठकले माइती नेपालको कामको प्रशंसा गर्दै सीप सिकेका किशोरीहरुले आफ्नो गाउँमा गएर अन्यलाई समेत समन्वय गरेर सीपलाई बढाउनु पर्ने बताइन् ।

कार्यक्रममा हिमराइट्स मकवानपुर प्रमुख कुमारी वाइबाले सीप जीवनको आधार बन्ने भएकोले प्रमाणपत्रको भरपुर प्रयोग गर्न किशोरीलाई प्रेरित गरिन् । तालिममा bमकवानपुरगढी, मनहरी, बकैया, बागमती, राक्सिराङलगायत गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाका किशोरी सहभागी रहेको संस्थाकी सुपरभाइजर मन लामाले बताइन् ।यसैगरी संस्थाले माइती नेपालमा अघिल्लो समूहमा सिलाई सिकेर व्यवसायमा लागेकी मकवानपुरगढी–१ रानीसेराकी सरिता बम्जनको व्यवसाय अवलोकनगराएको छ । सोमबार भएको अवलोकन भ्रमणमा गाउँपालिकाको वडा १ का अध्यक्ष आइतसिं लोको समेत उपस्थिति रहेको थियो । मानवबेचविखन रोकथाम परियोजना अन्तरगत भएको कार्यक्रममा पालिकामा रहेका किशोरीको हितको लागि आफूले समन्वय गर्ने वडाअध्यक्ष लोले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*