बागमतीमा पुस पहिलो सातादेखि राष्ट्रपति रनिङशिल्ड

हेटौंडा- मकवानपुरको पूर्वीक्षेत्रस्थित बागमती गाउँपालिकामा पुस पहिलो सातादेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गरिने भएको छ । त्यस्तै पुसको दोस्रो साता मनहरी गाउँपालिकाले पालिकास्तरमा छनोट खेल आयोजना गर्ने भएको छ ।गाउँ शिक्षा समितिको बैठकले स्थानीय तहस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी पुस ६–८ गते तीनदिन संचालन गरिने निर्णय गरेको पालिका अध्यक्ष सर्केश घलानले जानकारी दिए । मकवानपुर जिल्ला खेलकुद विकास समितिले गत असोज ११ गते पत्राचार गर्दै स्थानीय तहले यही मङ्सिर मसान्तसम्ममा प्रतियोगिता सम्पन्न गरी प्रतिवेदन पेश गर्न अनुरोध गरेता पनि पालिकाको वार्षिक शैक्षिक क्यालेन्डर अनुसार पुसको ६ गतेदेखि प्रतियोगिता संचालन गर्ने निर्णय भएको जनाइएको छ ।
बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको अध्यक्षतामा खेलकुद विकास समिति र प्रधानाध्यापकसँगको संयुक्त बैठकबाट स्थानीय तहस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गर्न बागमती खेलकुद विकास समितिका अध्यक्ष टीकालाल श्रेष्ठको संयोजकत्वमा एघार सदस्यीय समिति गठन गरेको छ । प्रतियोगिता पालिकाको वडा नम्बर ४ स्थित झुरझुरेको खेलमैदानमा गर्ने निर्णय भएको संयोजक श्रेष्ठले बताए ।
प्रतियोगितामा पालिका अन्तर्गतका पाँचवटा माध्यमिक विद्यालय र एघारवटा आधारभूत विद्यालयका विद्यार्थीहरु सहभागी हुने प्रतियोगिता आयोजक समितिका संयोजक श्रेष्ठले जानकारी दिए । गतवर्ष सम्पन्न बागमती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि वडा नम्बर ८ स्थित जनता माविले जितेको थियो ।