खेलकुद महोत्सवको तयारी तीव्र, पूर्वअध्यक्षहरुको साथ

हेटौंडा- जिल्ला खेलकुद विकास समिति मकवानपुरले आयोजना गर्न लागेको खेलकुद महोत्सवको तयारी तीव्र बनाइएको छ । खेलक्षेत्रको विकासमा टेवा पुग्ने भएकाले जिल्ला खेलकुदका पूर्वअध्यक्षहरुले महोत्सव सफलताको शुभकामना व्यक्त गरेका छन् ।खेलक्षेत्रको विकासका लागि कोष निर्माण गर्ने उदेश्यसहित हेटौंडाको टिसिएनचौरमा पुस ५ गतेबाट खेलकुद तथा व्यापार महोत्सव हुँदैछ ।
महोत्सवमा खेलकुदसंग सम्बन्धित विभिन्न १३ वटा बिधामा प्रतिस्पर्धा हुनेछ । आयोजकले महोत्सवको तयारीलाई तीव्र पारेको जनाएको छ । खेल र खेलाडीको हकहितमा काम गर्ने उदेश्यले आयोजना गर्न लागिएको महोत्सव सफल पार्न सबैले सहयोग गर्नुपर्ने पूर्वअध्यक्षहरुले बताएका छन् । जिल्ला खेलकुद विकास समिति अध्यक्ष भेष खड्गीले सामान्य चोटपटक लाग्दा उपचार गर्न नसक्ने अवस्था खेलाडीको रहेको जानकारी दिँदै उनीहरुको लागि काम गर्ने उदेश्यले महोत्सव गर्न लागिएको जानकारी दिए ।
‘पैसाको अभावमा खेल्न जान सकिएन, उपचार गर्न सकिएन भन्दै खेलाडीहरु चिठी बोकेर आउने गरेका छन् । हामीले सिफारिस बनाइदिने र टुलुटुलु हेरेर बस्ने बाहेक केही गर्न सकेका छैनौं ।’, अध्यक्ष खड्गी भन्छन्, ‘महोत्सवबाट बचेको रकम खेलाडीको बीमा, उनीहरुको उपचार र खेलकुदकै लागि प्रयोग गरिनेछ ।’,खेलकुद विकास समितिका पूर्वअध्यक्ष प्रभात दाहालले महोत्सवको उद्देश्य क्लियर भएकोले सबैले सहयोग गर्नु जरुरी रहेको बताए । ‘वर्तमान कार्यसमितिले राम्रो सोचाईका साथ महोत्सव आयोजना गर्न लागेको छ । यसमा हामी पूर्वअध्यक्षहरुको साथ, सहयोगरहनेछ ।’, दाहालले भने, ‘सबैबाट सहयोगको अपेक्षा गर्दछौं ।’
महोत्सवको प्रचारप्रसार, महोत्सव स्थलको सरसफाई, सामान ल्याउने लगायतका काम तीव्र भइरहेको छ । यस्तै खेलकुद विकास समितिका पूर्वअध्यक्ष बालकृष्ण चौलागाईंले यो खेलकुद महोत्सव भएकोले कसैले बिरोध गर्नु आवश्यक नरहेको बताए । ‘खेलकुदसँग सम्बन्धित संस्थाले खेलमहोत्सव आयोजना गर्न लागेको हो ।’, चौलागाईंले भने, ‘यसले पक्कै जिल्लाको खेल क्षेत्रको विकासमा मद्दत पु¥याउनेछ ।’,
महोत्सवका लागि सबै पूर्वअध्यक्षहरु रहेको सल्लाहकार समिति निर्माण गरिएको छ । औद्योगिक शान्ति नेपाल संस्थासंगको सहकार्यमा हुन लागेको महोत्सवबाट करिब २५ लाख रुपैयाँको कोष निर्माण गर्ने जिल्ला खेलकुद विकास समितिको लक्ष्य रहेको छ । महोत्सवमा दैनिक विभिन्न राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय खेलकुद प्रतियोगितासहित राष्ट्रिय कलाकारको प्रश्तुती, बालउद्यान, लाइभ दोहोरी सहित व्यावसायिक स्टल रहनेछ ।