बालउज्ज्वल माविमा ‘बुक होलीडे’
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–३, बसामाडी लेवटस्थित बालउज्ज्वल माध्यमिक विद्यालयले ‘बुक होलीडे’ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।पहिलो वर्ष प्रत्येक महिनाको तेस्रो शुक्रबार मात्र, दोस्रो वर्ष महिनाको दुई शुत्ररबार रहने गरी ‘बुक होलीडे’ कार्यक्रमको सुरुवात गरिएको विद्यालयले जनाएको छ । इण्डोर र आउटडोरमा व्यवस्थापन हुने गरी करिब ५० वटा कला, साहित्य, खेलकुद, बालसंरक्षण, आयआर्जनमूलक विधामा कक्षागत र तहगत समूह बनाएर कार्यक्रम सञ्चालन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकनाथ शिवाकोटीले जानकारी दिए ।
‘एकोहोरो अध्ययन र किताबी दबाबले शिक्षाको गुणस्तर र नतीजामा विद्यार्थीहरु कमजोर देखिएका छन् । निरन्तर अध्ययनको कारण थकित शिक्षकलाई नयाँ ऊर्जा र उपलब्धीमूलक नतीजा प्राप्ति गर्न यो कार्याक्रमले टेवा पुग्ने विश्वास हामीले लिएका छौं ।’, अध्यक्ष शिवाकोटीले भने ।विद्यालयका प्रधानाध्यापक शम्भु बर्तौलाले पहिलोदिन कक्षागत चित्रकला र हिज्जे प्रतियोगिता आयोजना गरी औपचारिक रुपमा कार्यक्रमको सुरुवात गरिएको बताए । कार्यक्रममा ६ सय जना विद्यार्थीले सहभागिता जनाएकोउनले जानकारी थिए । सहभागी ६० जना विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।