मकवानपुरका दुई अस्पतालबाट सुरक्षा कोषको सुविधा पाइने

साझाकुरा
२०८० मंसिर २६, मंगलवार ११:२२

हेटौंडा-मकवानपुरका दुईवटा निजी अस्पतालबाट सामाजिक सुरक्षा कोषको सुविधा पाइने भएको छ । मकवानपुरका दुईसहित देशभरका ७१ वटा अस्पतालले कोषको सुविधा दिने भएको हो ।सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि हालसम्म देशभरका ७१ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । सम्झौतासँगै कोषको योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने भएको छ । सामाजिक सुरक्षा कोषको सुविधा दिने मकवानपुरका दुईवटा अस्पतालमा हेटौंडा–११ थानाभ¥याङमा रहेको चुरेहिल अस्पताल प्रालि र १ नम्बर वडास्थित मकवानपुर सहकारी अस्पताल रहेको कोषको सह–प्रवक्ता रोहित रेग्मीले जानकारी दिए ।

योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ७१ अस्पतालसँग अनलाइन सम्झौता गरिएको कोषको सह–प्रवक्ता रेग्मीले बताए । सम्झौता भएका अस्पताल अन्तर्गत अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्ने उनको भनाइ छ ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गतका स्वास्थ्य सुविधा लिँदा लाभग्राहीले तोकिएको सीमाभित्र रही कुनै पनि भुक्तानी गर्नु नपर्ने उनको भनाई छ । २०७९ फागुन १ यता देशभरका विभिन्न स्थानमा अनलाइन (लाइभ) सम्झौता भएका छन् । जसमध्ये हालसम्म ७१ अस्पतालबाट औषधि उपचारबापतको सुविधा भुक्तानी हुनेछ । त्यसबाहेकका स्थानमा जुनसुकै अस्पतालमा उपचार गर्दा कोषको कार्यालयमा आवश्यक कागजात बुझाएर दाबी गर्नुपर्ने उनको भनाई छ ।

आगामी दिनमा अस्पतालको आबद्धतालाई संख्यात्मक र गुणात्मक रुपमा बढाउँदै लैजाने प्रतिबद्धता कोषले जनाएको छ । नियमित योगदान गर्ने योगदानकर्ताले कोशी प्रदेशका १५, मधेस प्रदेशका १२, बागमती प्रदेशका २८, गण्डकी प्रदेशका ८ र लुम्बिनी प्रदेशका ८ वटा गरी कोषको प्रणालीसँग जोडिएका ७१ अस्पतालमा कोषको परिचयपत्र देखाएर सुविधा लिन पाउने उनको भनाइ छ ।

बागमती प्रदेशमा मकवानपुरका दुई अस्पतालसहित, कलेज अफ मेडिकल साइन्स–पुरानो मेडिकल कलेज भरतपुर, चितवन मेडिकल कलेज टिचिङ हस्पिटल भरतपुर, मनकामना अस्पताल भरतपुर, शिर मेमोरियल अस्पताल बनेपा, धुलिखेल अस्पताल काभ्रे, वीर अस्पताल काठमाडौं, राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं, त्रिवि शिक्षण अस्पताल काठमाडौं, सहिद गंगागाल राष्ट्रिय मुटु केन्द्र काठमाडौं, हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल काठमाडौं, मनमोहन मेमोरियल काठमाडौं, काठमाडौं मेडिकल कलेज, ने.अ.सं. नेपाल अर्थोपेडिक अस्पताल काठमाडौं, तिलगंगा आँखा अस्पताल काठमाडौंलगायतका गरी २८ वटा छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*