मकवानपुरमा एचआइभी एड्सका २८ नयाँ संक्रमित फेला

साझाकुरा
२०८० मंसिर २९, शुक्रबार ११:२४

हेटौंडा- मकवानपुरमा सन् २०२३ को ११ महिनाभित्र एचआइभी एड्सका २८ जना नयाँ संक्रमित फेला परेका छन् ।एचआइभी एड्स संक्रमित पहिचान गर्ने लक्ष्यभन्दा बढीको संख्यामा संक्रमित फेला परेको हो । हेटौंडा अस्पतालमा सेवारत् एन्टीरेट्रो भाइरल थेरापी (एआरटी) सेन्टरले मकवानपुरमा सन् २०२३ को ११ महिनाभित्रमा २८ जना नयाँ एचआइभी एड्सका संक्रमित फेला परेको जानकारी दिएको छ । एआरटीले २०२३ मा १३ जना संक्रमितको पहिचान गर्ने लक्ष्य लिएर परीक्षण थालेको थियो । एआरटी सेन्टरका परामर्श दाता अमृत लामिछानेले सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्मको ११ महिनामा २८ जना नयाँ संक्रमित फेला परेको जानकारी दिएका छन् ।

सरकारी निकाय र गैरसरकारी संस्था एड्स हेल्थ फाउण्डेशन–नेपालअन्तर्गत्को अस्पतालमा सेवारत् एआरटी सेन्टरले जिल्लामा एचआइभी एड्सको नियन्त्रण र परीक्षणमा काम गर्दै आएका छन् । सरकारी र गैरसकारी क्षेत्रबाट एड्सको नियन्त्रण प्रयासका बाबजुद संक्रमित घट्नुपर्नेमाबढिरहेको परामर्शदाता लामिछाने बताउँछन् । एड्स हेल्थ फाउण्डेशन–नेपालले बुधवार स्थानीय जनप्रतिनिधिसहित सरोकारवाला निकाय र बिहीवार प्रदेश र स्वास्थ्य क्षेत्रका सरोकारवाला निकायसँग एअचाइभी एड्सबारे छलफल गरेको छ । मकवानपुरमा एचआइभी एड्सको नियन्त्रण प्रयास, यसको औषधिउपचार, परीक्षण, संक्रमितको आत्मनिर्भरतालगायतको विषयमासरोकारवालाबीच छलफल गरिएको हो ।

हेटौंडा अस्पतालमा एआरटी सेन्टरको निरन्तरता हुने भएको छ । १३ वर्षदेखि अस्पतालमा सेवारत् एआरटी सेन्टरले विगत ३ वर्षदेखि एचआइभी एड्सको क्षेत्रमा काम गर्दै आइरहेको हो । तीन वर्षमा एचआइभी संक्रमित बढिरहेका छन् । परामर्शदाता लामिछानेका अनुसार स्न २०२१ मा मकवानपुरमा ३५ जना नयाँ संक्रमित फेला परेका थिए । सन् २०२२ मा २६ जना संक्रमित फेला परेकोमा चालू वर्ष २०२३ को नोभेम्बरसम्म २८ जना नयाँ संक्रमित फेला परिसकेका छन् । ६६ जनाको लक्ष्य लिइएकोमा ११ महिनाको अवधिमा ६४ जनामा एचआइभी परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये संक्रमित देखिएको प्रतिशत ४३ दशमलव ७५ प्रतिशत हो ।

मकवानपुरका २८ जना र चितवनबाट आएका दुईजना गरी ३० जनालाई औषधिउपचारको रुपमा एन्टीरेट्रो भाईरल थेरापी सेवा दिँदै आइरहेको एड्स हेल्थ फाउण्डेशन–नेपालका वरिष्ठ कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले जानकारी दिए । उनका अनुसार मकवानपुर एआरटी मार्फत ३ सय जना संक्रमितले नियमित औषधि सेवन गर्दै आएका छन् । संक्रमण देखिएर पनि औषधि नखाने ५५ जना रहेका छन् । जिल्लामा एचआइभी एड्सका संक्रमित ३ सय जना भन्दा बढी रहेको अनुमान एआरटी सेन्टरको छ । हालसम्मको परीक्षणबाट ४ सय ९३ जना संक्रमित पत्ता लागे पनि ५० जना भन्दा बढीको मृत्यु भइसकेको र ५० जनाको हाराहारीमा संक्रमितहरु हराएको अनुमान छ ।

संक्रमण भएको खुल्ने डरले परीक्षण नै गराउन नचाहने धेरै रहेको पराशर्मदाता लामिछानेले बताए । ‘यहाँ संक्रमित धेरै छन् । परीक्षण नै गर्न आउँदैनन् । संक्रमितहरु पनि औषधि खान आउँदैनन् । यसले एचआइभी सर्ने जोखिम बढाएको छ ।’, उनले भने । हेटौंडा बजार क्षेत्रर राजमार्गसँग नजिक रहेकाले, जनचेतना अभिवृद्धि हुन नसक्नु र संक्रमितले नियमित औषधि सेवन नगर्दा जिल्लामा एचआइभी संक्रमणलाई लक्ष्यअनुसार नियन्त्रण गर्न नसकिएको लामिछाने बताउँछ । राजमार्ग क्षेत्रमा खुलेआम हुने गरेका यौन धन्दाले एचआइभीको जोखिम बढाएको छ । हेटौंडाको राजमार्ग क्षेत्रमै रातको समयमा यौन धन्दा हुने गरेको छ । तर, सरकारी निकायले थाहा पाएर पनि यसको नियन्त्रण गर्न सकेको छैन ।

एआरटीले संक्रमितलाई आयआर्जनमा जोड्न सहयोग पनि गर्दै आएको छ । यसवर्ष हेटौंडाका १५ देखि २२ वर्षसम्मका दुईजना संक्रमित किशोरीलाई १५÷१५ हजार रुपैयाँ सहयोग गरिएको लामिछानेले बताए । जसमा एक किशोरीले २ वटा बाख्रा खरिद गरेर आयआर्जन गर्न थालेको र एक किशोरीले प्राप्त रकम मादकपदार्थ सेवन गरेर सकेको एआरटी सेन्टरले जानकारी दिएको छ । संक्रमित किशोरी हेटौंडा बसपार्क क्षेत्रमै देखिँदै आए पनि नियन्त्रण गर्न कठिनाई भइरहेको सेन्टरले जनाएको छ ।सरकारी तथ्यांक अनुसार नेपालमा अहिले ४० हजार ७ सय २३ जना मानिसमा एचआइभी भएको अनुमान गरिएको छ ।

तर,सरकारी सेवामा आएर परीक्षणगराउनेमा भने जम्मा २५ हजार २ सय २२ जना रहेका छन् । सरकारी सेवा बाहिर रहेका १५ हजार ५ सय १ एचआइभी संक्रमित कहाँ छन् भन्नेबारे स्वयम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत थाहा छैन ।राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्याङ अनुसार एचआइभी संक्रमितमध्ये आधा पनि नियमित उपचारमा आएर औषधि खाएको पाइँदैन । औषधि लिने बिरामीहरु पनि भटाभट बीचमै औषधि खान छाडी भाग्ने क्रम बढ्दै गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*