आचार्यको पाँचौं कृति ‘जुनेली’ खण्डकाव्यको गृहविमोचन
हेटौंडा- पुरुषोत्तम आचार्यको पाँचौं कृति ‘जुनेली’ खण्डकाव्यको गृहविमोचन गरिएको छ । शनिबार सोलिड्यारिटी इन्टरनेसनल एकेडेमी बोर्डिङ स्कुलमा आयोजित एक कार्यक्रमबीच कृति विमोचन तथा हास्यव्यङ्यकार आरसी रिजालद्वारा स्थापित २२ हजार २ सय २२ रुपैयाँ राशिको युद्धप्रसाद मिश्र स्मृति साहित्य सम्मान २०८० बाट आचार्यलाई सम्मान गरिएको हो ।
साहित्य सर्जक नवराज शर्माको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम प्रलेस मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीको सभाध्यक्षतामा आयोजना गरिएको हो । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, प्राध्यापक तथा साहित्य सर्जक निरा शर्मा, राजनीतिकर्मी तथा साहित्य सर्जक प्रदीप वालाचनले आचार्यको कृतिमाथि टिप्पणी गरेका थिए । वक्ताकारुपमा साहित्य सर्जक निरा शर्माले लोकलयमा आधारित कृति द्वन्द्वात्मक भौतिकवादमा आधारित रही लेखिएको रचनाले हरेक व्यक्तिलाई नेपाली समाजको चरित्र चित्रण गराइदिने बताए ।
सर्जक निमेष निखिलले आचार्यको पुस्तकले समाजमा रहेका शोषित र पीडित वर्गले भोग्नुपरेको अन्यायको पक्षमा बोलेको र पुस्तकले व्यवस्थापिका परिवर्तनपछाडिको समाजको अवस्थाको बारेमा समेत उल्लेख गरेको भए अझ सुन्दर हुने बताए । उनले सामाजिक शोषणबाट मुक्तिका लागि क्रान्ति र वर्गसंघर्ष आवश्यक छ भन्ने वैचारिकको प्रस्तुति काव्यको केन्द्रीय कथ्य हो ।
सर्जक निखिलले काव्यको भाषा र कवित्व बेजोड रहेको, यस काव्यको औचित्यमाथि प्रश्न उठाउन सकिने ठाउँ नरहेको, पटाक्षेप भइसकेको एउटा विषयलाई दुई दशकपछि यसरी काव्यका रुपमा उठान गर्नु आज यो समयमा आवश्यक थियो कि थिएन ? यो छुट्टै चर्चाको विषय हुन सक्ने बताए ।बागमती प्रदेशसभा निवर्तमान सदस्य प्रदीप वालाचनले सबैले दासत्व स्वीकार नगर्न अनुरोध गर्दै ‘जुनेलीका पात्रहरुका चरित्रहरु हेर्दा आफैंलाई पनि पाउँछु । ठूलाठूला युद्धमा कमाण्डर भएर लडेको हिसाबले पनि सामाजिक विषयवस्तुलाई लेखकले यसरी उल्लेख गर्दा गर्व लाग्ने बताए ।
नारीहरुको दिनचर्या, बेहोर्नुपरेका हिंसा, गोठाले जीवनको चर्चा पढिरहँदा आफ्नै जीवनको तथा आफ्नै घरको कथाका रुपमा पाएको वालाचनले बताए । द्वन्द्वात्मक भौतिकवाद मान्नेहरुले समाजमा वर्गका आधारमा रहेका शोषित र शोषक गरी दुई जातहरु विभाजन गरेका छन् । कविताको रुपमा ती कुरालाई पस्किन सकेको भए अझ उत्तम हुने तर्क
वालाचनको थियो ।साहित्यकार आचार्यले आफ्नो पुस्तकका रचनाहरु गाएर कार्यक्रममा नाट्य प्रस्तुति समेत गरिएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौंडा उपमहानगरपालिका–४ का अध्यक्ष नवीन सिग्देल, बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलानलगायतको आतिथ्यता रहेको थियो ।