हेटौंडा क्याम्पस पनि क्यूएए मान्यता प्राप्त

साझाकुरा
२०८० पुष २, सोमबार ११:०५

हेटौंडा-हेटौंडा–४, मा रहेको हेटौंडा क्याम्पसले विश्वविद्यालय अनुदान आयोगको गुणस्तर सुनिश्चितता क्यूएए प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । सुनिश्चितता प्रत्यायान प्रक्रियामा सहभागी भई संस्थागत गुणस्तर परीक्षणका सबै चरण पारगरी पुस १ गते आइतबार विश्वविद्यालय अनुदान आयोग, सानोठिमी, भक्तपुरबाट प्रत्यायानकृत भएको हो ।
क्यूएए प्रमाणपत्र प्राप्त गर्न सफल भएपछि हेटौंडा क्याम्पस परिवार अत्यन्तै हर्षित एवम् गौरवान्वित भएको भन्दै क्याम्पस संचालक समिति अध्यक्ष आनन्दराम पराजुलीले खुशी ब्यक्त गरेका छन् ।

गुणस्तर सुनिश्चितता प्रमाणपत्र प्राप्त भएसँगै क्याम्पसका लागि चुनौती र अवसर दुबै थपिएको अध्यक्ष पराजुलीले साझाकुरालाई बताए । १२ कक्षा उत्तीर्ण गर्नेबित्तिकै एनओसी लिन शिक्षा मन्त्रालय धाउने विद्यार्थी स्वदेशमै रोक्नका लागि हामी सबैले प्रयास गर्नुपर्ने अध्यक्ष पराजुलीले बताए । क्यूएए सर्टिफाई हुने प्रक्रियामा क्याम्पस सभासद, क्याम्पस संचालक समिति, क्याम्पस प्रशासन, क्याम्पसमा कार्रयरत शिक्षक तथा कर्मचारीहरु, अध्ययनरत तथा उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थी, स्थानीय समुदाय, क्याम्पससँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडीएर सहकार्य गर्नुभएका विभिन्न संघसस्था, क्याम्पसलाई सहयोग गर्नुभएका विभिन्न संघ सस्थाको समेत अमूल्य योगदानरहेको अध्यक्ष पराजुलीले बताए ।

विश्वविद्यालय अनुदान आयोगको टोलीले बिभिन्न चरणमा हेटौंडा क्याम्पसमा अभिमूखीकरण गर्ने, अनुगमन गर्ने, तथ्यांक सत्यापन गर्नेलगायतका कार्य बिगतदेखि नै गर्दै आएका थिए । क्याम्पस संचालक समिति अध्यक्ष पराजुलीको नेतृत्वमा वडाअध्यक्ष नबीन सिग्देललगायतका टोली क्यूएए मान्यता पाएको प्रमाणपत्र ग्रहण गर्न काठमाडौं गएका थिए । हाल क्याम्पसप्रमुखबाटराजीनामा गरेका देवचन्द्र मानन्धरको धेरै ठूलो योगदार रहेको पनि अध्यक्ष पराजुलीले सुनाए ।

क्यूएए मान्यता प्राप्त नभएका कलेजको उत्पादनले अन्तराष्ट्रिय जगतमा प्रतिष्पर्धा गर्न अयोग्य मानिने अवस्था आएका कारण पनि हामीले ‘क्यूएए’ मान्यताका लागि पहल गरेको हो–अध्यक्ष पराजुलीले भने–‘अब हाम्रो क्याम्पसको यात्रा अझै थप गुणस्तरीय रुपमा अगाडि जानेछ ।’ हेटौंडा क्याम्पसको उत्पादनले अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्ने योग्य विद्यार्थी उत्पादन गर्न सक्ने अध्यक्ष पराजुलीले बताए ।

गुणस्तर सुनिश्चितता तथा प्रत्यायान (क्युएए) मान्यता पाएका कलेजबाट उत्पादित विद्यार्थीले जुनसुकै क्षेत्रमा प्रतिष्पर्धा गर्न सक्ने भएकाले पनि यो जरुरी रहेको अध्यक्ष पराजुलीले बताए । विश्वविद्यालय अनुदान आयोग (युजिसी) ले निर्धारण गरेको मापदण्ड पूरा गर्ने विषयमा क्याम्पस संचालक समिति, प्राध्यापक, विद्यार्थी, अभिभावक सबै क्षेत्रको प्रतिबद्धता रहेको पनि पराजुलीले बताए । २०४७ सालमा शिक्षा संकायको अध्यापन गराउने गरी स्थापित हेटौंडा क्याम्पसमा हाल प्लस टुमा होटल म्यानेजमेन्टको अध्यापन सुरु गरिएको छ ।

क्युएए मान्यताका लागि कलेजका प्राध्यापकहरुले बिभिन्न समितिहरु निर्माण गरी मापदण्ड पूरा गर्ने अभियानमा दिनरात खटेर लागेका कारण आज यो स्थानमा आइपुग्न सफल भएको क्यापसप्रमुख बालकृष्ण शर्माले बताए । कलेजको संगठन, संगठनको नीति, पाठ्यक्रम, शिक्षण प्रक्रिया, प्राध्यापकहरुको अनुसन्धानसम्बन्धी क्रियाकपाल, पर्याप्त पूर्वाधार संरचना, कलेजले विद्यार्थीलाई गर्ने सहयोग, अभिभावक र सर्वसाधारणमा गरिने सूचना प्रवाह लगायतका आधारक्षेत्र पूरा गर्ने क्रममा हेटौंडा क्याम्पसले काम गरिरहेको छ ।

क्यूएए मान्यता प्राप्त गर्नु गन्तब्य नभइ यात्रा सुरु मात्र भएको बताइएको छ । स्थानीय अभिभावक, विद्यार्थी, कलेजका प्राध्यापक, संचालक समितिका पदाधिकारी सहभागी कार्यक्रममा हालसम्मको उपलब्धीलाई संस्थागत गर्दै आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा थप छलफल गरी अगाडि बढ्नु पर्ने हेटौंडा–४ का वडाअध्यक्ष नबीन सिग्देलले बताए । हेटौंडा क्याम्पसको ईतिहासमा ठूलो उपलब्धी भएको बताउँदै वडाअध्यक्ष सिग्देलले आगामी दिनमा सबै पक्षसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने कुरामा जोड दिए ।

मकवानपुरमा उच्चशिक्षा प्रदान गरिरहेको शैक्षिक संस्थामा मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा स्कुल अफ म्यानेजमेन्टले यस अघि नै क्यूएए प्रमाणपत्र पाएका थिए । क्यूएए पाउने पहिलो निजी शैक्षिक संस्था हेटौंडा स्कूल अफ म्यानेजमेन्ट हो । समग्रमा भने क्युएए मान्यता पाउने म्यानेजमेन्ट दोस्रो हो । देशका ठूला सामुदायिक क्याम्पसमध्ये एक मानिने मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायानको मान्यता केही वर्ष अघि दिएकोथियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*