मनहरी अध्यक्ष कप फुटबलमा ६ र ७ नम्बर वडाको जित
हेटौंडा-मनहरी गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगितामा ६ र ७ नम्बर वडा विजयी भएका छन् । शनिवारदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत आइतबार २ खेल भएको थियो ।पहिलो खेल ५ नम्बर वडा र ६ नम्बर वडाबीच रहेको थियो । पहिलो खेलमा ५ नम्बर वडालाई ३–० गोल अन्तरले पराजित गर्दै ६ नम्बर वडा विजयी भएको हो । पहिलो खेलको म्यान अफ दि म्याचको ट्रफी र २ हजार रकम सहित अभिषेक खड्का सम्मानित भएका थिए । यसैगरी, आइतबार नै भएको दोस्रो खेल १ नम्बर वडा र ७ नम्बर वडा बीचमा रहेको थियो ।
खेलमा १ नम्बर वडालाई सर्वाधिक ७–० गोल अन्तरले पराजित गर्दै ७ नम्बर वडा विजयी भएको हो । खेलको पहिलो हाफमै ७ नम्बर वडाले ५ गोल गर्न सफल भयो र दोस्रो हाफमा थप २ गोल गर्दै ७ गोल गर्यो । यो खेलमा सर्वाधिक ३ गोल गर्ने खेलाडी तथा टिमका क्याप्टेन मनिस पौडेलले नगद २ हजार सहित म्यान अफ दि म्याचको ट्रफी हासिल गरे ।
मंसिर ३० गतेदेखि मनहरी–७ रमौलीस्थित मदन भण्डारी क्षेत्रीय रंगशालामा सुरु भएको चौथो अध्यक्ष कप फुटबल प्रतियोगिताको समापन पुस ५ गते हुनेछ । गाउँपालिकाको प्रायोजनमा भएको खेल खेलकुद विकास समितिले आयोजना गरेको हो । खेलमा प्रथम हुने टिमलाई नगद १ लाख र दोस्रो हुनेलाई नगद ५० हजारसहित दुबै टिमलाई शिल्ड , मेडल र प्रमाणपत्र सहित सम्मान गरिने छ ।