खेलकुद तथा व्यापार महोत्सवको तयारी अन्तिम चरणमा
हेटौंडा- मकवानपुरको खेल क्षेत्रको विकासको उद्देश्यसहित पुस ५ गतेबाट सञ्चालन हुने बृहत् खेलकुद तथा व्यापार महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।खेलका लागि आवश्यक संरचना निर्माण, खेल तालिका निर्माण, महोत्सवस्थलको घेराबारा, स्टल निर्माण लगायतको कार्य धमाधम भइरहेको हो । खेलकुद महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले गर्ने भएका छन् । खेलकुद महोत्सवप्रति मकवानपुरका खेलकुद संघका पदाधिकारी एवम् खेलाडी उत्साही बनेका छन् ।
खेलकुद विकास समितिमा आबद्ध विभिन्न संघका पदाधिकारी तथा खेलाडी महोत्सवका लागि एकजुट भएर खटिएका छन् । महोत्सव आयोजनास्थल टिसिएनचौर महोत्सवको लागि सजिएको छ ।खेलकुद र खेलाडीको हितको लागि आयोजना हुँदै गरेको महोत्सव सफल बनाउन सबै एकजुट रहेको उनीहरुको भनाई छ । ‘महोत्सवको तयारी करिब अन्तिम चरणमा पुगेको छ । ९० प्रतिशत तयारी सकिसकेको छ ।’, आयोजक संस्था मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीले भने, ‘पवित्र उद्देश्यले आयोजना गर्न लागिएको यस महोत्सवलाई सबैले सहयोग गरिरहनु भएको छ । आम जिल्लाबासीलाई महोत्सवमा उपस्थितिका लागि हार्दिक अनुरोध समेत गर्दछौं ।’
महोत्सवमा राष्ट्रिय, प्रदेश तथा स्थानीय गरी १३ वटा विभिन्न विधामा खेलकुद प्रतियोगिता हुनेछ । महिलाको राष्ट्रिय उसु प्रतियोगिता, महिलाकै राष्ट्रिय भलिबल, कबड्डीतर्फ महिला पुरुष दुवै विधाको प्रदेशस्तरीय प्रतियोगिता, कराँतेको जिल्लास्तरीय प्रतियोगिता, फुलकन्ट्याक्ट कराँतेको जिल्लास्तरीय, आर्चरीको खेल प्रदर्शन, रेस्लिङको आमन्त्रित र कुस्तीको अन्तर्राष्ट्रिय प्रदर्शन गर्ने आयोजकको तयारी छ । ब्याड्मिन्टनको खुला प्रतियोगिता, आइटीएफ तेक्वान्दो र हक्कीको प्रदेशस्तरीय प्रतियोगिता र महिलाको लागि ७ ‘ए’ साइड फुटबल प्रतियोगिता हुनेछ ।
सबै प्रतियोगिताको विजेता उपविजेताले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलकुद महोत्सवबाट कम्तिमा २५ लाख रुपैयाँ खेलकुद विकास समितिले बचत गर्ने लक्ष्य राखेको छ । महोत्सवबाट प्राप्त हुने रकम खेलकुद समितिमै राखेर खेल र खेलाडीको बृत्तिविकासमा लगाउने योजना रहेको छ ।महोत्सवमा खेलकुदको स्पर्धासँगै कृषि, पर्यटन, हस्तकला, खेलकुद सामग्री, धार्मिक, सामुदायिक, स्वास्थ्य, जनचेतनामूलक, खाना खाजाका स्टल समेत रहनेछ । यस्तै बालउद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, खुला नृत्य प्रतियोगिता र लाइभ दोहोरी समेत आयोजना हुने आयोजकले जानकारी दिएको छ ।