अध्यक्ष कप फुटबलको फाइनलमा २ र ७ नम्बर वडा
हेटौंडा-मनहरी गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलबाट २ र ७ नम्बर वडा विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको खेलमा यी दुई टिमले विजयी हासिल गरेका हुन् ।पहिलो खेल २ नम्बर वडा र ६ नम्बर वडाबीचमा रहेको थियो । पहिलो खेलमा २ नम्बर वडा र ६ नम्बर वडाबीच १–१ गोलको बराबरीमा खेल सक्किएपछि खेल पेनाल्टी शुटआउटमा गएको थियो । २ नम्बर वडाका पाँचै जना खेलाडीले गोल गर्न सफल हुँदा ६ नम्बर वडाका दुई जना खेलाडीले भने गोल गर्न सकेनन् । सोही अनुरुप वडा नम्बर २ विजयी भएको थियो । पहिलो खेलमा वडा नम्बर २ का गोलकिपर अशोक मोक्तान म्यान अफ दी म्याच हुन सफल भए ।
दोस्रो सेमिफाइनल खेल ७ नम्बर वडा र ८ नम्बर वडाबीच भएको थियो । यो खेलमा ८ नम्बर वडालाई ०–१ गोल अन्तरले पराजित गर्दै ७ नम्बर वडा विजयी भएको हो । खेलको पहिलो हाफमै ७ नम्बर वडाले गोल गर्न सफल भएको थियो । सोही गोल नै ७ नम्बर वडाका लागि जित हासिल गर्न निर्णायक बन्यो । ७ नम्बर वडाका लागि खेलको २३ औँ मिनेटमा रवि लोले गोले गरे । पुस ५ गते दिउँसो १ बजे हुने फाइनल खेलमा वडा नम्बर २ र ७ नम्बर वडाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
गाउँपालिकाको प्रायोजन तथा गाउँ खेलकुद विकास समितिको आयोजनामा भएको खेलमा प्रथम हुने टिमलाई नगद १ लाख र दोस्रो हुनेलाई नगद ५० हजारसहित दुबै टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । साथै विभिन्न विधाका खेलाडीहरु र राष्ट्रियस्तरका खेलाडीलाई नगदसहित सम्मान गरिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।