आजबाट खेलकुद तथा व्यापार महोत्सव

साझाकुरा
२०८० पुष ५, बिहीबार १०:५१

हेटौंडा- हेटौंडामा आज बिहीबारबाट वृहत् खेलकुद तथा व्यापार महोत्सव हुने भएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा हेटौंडा–१० स्थित टीसीएन चौरमा आजदेखि १७ पुससम्म महोत्सव हुँदैछ ।महोत्सवको तयारी पूरा भएको आयोजक खेलकुद विकास समितिका अध्यक्ष वेष खड्गीले बुधवार पत्रकार सम्मेलन गरी जानकारी दिए ।

अध्यक्ष खड्कीका अनुसार महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्रीशालिकराम जम्कट्टेलले गर्नेछन् । मेला अवधिभर किनमेल, सांगीतिक प्रस्तुती, नृत्यसहित दैनिकरुपमा खेलकुद प्रतियोगिता समेत आयोजना गर्ने बताउँदै खड्कीले महोत्सवभर १३ वटा विधामा राष्ट्रिय, प्रदेश र जिल्लास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिने बताए ।

महोत्सवमा राष्ट्रिय, प्रदेश तथा स्थानीय गरी १३ वटा विभिन्न विधामा खेलकुद प्रतियोगिता हुनेछ । महिलाको राष्ट्रिय उसु प्रतियोगिता, महिलाकै राष्ट्रिय भलिबल, कबड्डीतर्फ महिला पुरुष दुवै विधाको प्रदेशस्तरीय प्रतियोगिता, कराँतेको जिल्लास्तरीय प्रतियोगिता, फुलकन्ट्याक्ट कराँतेको जिल्लास्तरीय, आर्चरीको खेल प्रदर्शन, रेस्लिङको आमन्त्रित र कुस्तीको अन्तर्राष्ट्रिय प्रदर्शन गर्ने आयोजकको तयारी छ । ब्याड्मिन्टनको खुला प्रतियोगिता, आइटीएफ तेक्वान्दो र हक्कीको प्रदेशस्तरीय प्रतियोगिता र महिलाको लागि ७ ‘ए’ साइड फुटबल प्रतियोगिता हुनेछ ।

सबै प्रतियोगिताको विजेता उपविजेताले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलकुद महोत्सवबाट कम्तिमा २५ लाख रुपैयाँ खेलकुद विकास समितिले बचत गर्ने लक्ष्य राखेको छ । महोत्सवबाट प्राप्त हुने रकम खेलकुद समितिमै राखेर खेल र खेलाडीको बृत्तिविकासमा लगाउने योजनारहेको छ ।महोत्सवमा खेलकुदको स्पर्धासँगै कृषि, पर्यटन, हस्तकला, खेलकुद सामग्री, धार्मिक, सामुदायिक, स्वास्थ्य, जनचेतनामूलक, खाना खाजाका स्टल समेत रहनेछ । यस्तै बालउद्यान, राष्ट्रिय तथा स्थानीयकलाकारको प्रस्तुती, खुला नृत्य प्रतियोगिता र लाइभ दोहोरी समेत आयोजना हुने आयोजकले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*