खेलकुद तथा व्यापार महोत्सव सुरु, पहिलो दिनमै खचाखच दर्शक

साझाकुरा
२०८० पुष ६, शुक्रबार १०:०३

हेटौंडा- हेटौंडामा बिहीवारबाट बृहत खेलकुद तथा व्यापार महोत्सव सुरु भएको छ । पहिलो दिनमै महोत्सवमा दर्शकको उल्लेखनीय उपस्थितिरहेको छ ।हेटौंडा उपमहानगरपालिका–१०, स्थित टिसिएनचौरमा भएको महोत्सव बागमती प्रदेशकी वन तथा वातावरण मन्त्री मसिना खड्काले उद्घाटन गरेकी छन् । महोत्सवलाई सम्बोधन गर्दै मन्त्री खड्काले महोत्सवकको माध्यमबाट खेलकुद क्षेत्रको विकास गर्न चाहने पवित्र कार्यलाई प्रदेश सरकारको सदैव साथ र सहयोग रहने प्रतिबद्धता जनाएकी छन् । उनले जिल्लाकै खेलकुद विकासका लागि गरिएको कार्यक्रमलाई सबै क्षेत्रले सहयोग गर्नुपर्ने जोड दिइन् ।

उनले खेलकुद स्वास्थ्य र राज्यको लागि अपरिहार्य रहेको बताएकी छन् ।‘खेलकुदले व्यक्ति स्वस्थ्य हुनु भनेको राज्यले निरोगी र तन्दुरुस्त जनशक्ति पाउनु हो, यस्ता खेल महोत्सवले खेलाडीलाई प्रोत्साहन पनि गर्छ ।’, उनले भनिन् । खेलकुद तथा व्यापार मेलाले आर्थिकरुपमा समेत सहयोग पु¥याउने उनले बताइन् । मेलाको क्रममा हुने विभिन्न खेलको प्रतियोगिताले खेलाडीलाई आफ्नो क्षमता देखाउने अवसर पनि हुने उनको भनाई छ । खेलकुद तथा व्यापार महोत्सवलाई जिल्लाबासीले अबसरको रुपमा लिनुपर्ने उनले बताइन् । मन्त्री खड्काले यसखाले महोत्सवको आगामी वर्षमा पनि निरन्तरता दिन अनुरोध गरिन् ।

महोत्सव मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा भएको हो । खेलकुद विकास समिति अध्यक्ष वेष खड्कीको सभाध्यक्षता भएको कार्यक्रममा विभिन्न धर्म संस्कृतिका झाँकी तथा महिलाद्वारा पञ्चेबाजा प्रदर्शनी गरिएको थियो । नगरक्षेत्रका विद्यालय, टोल विकास संस्था, धार्मिक तथा सामाजिक संघसंस्थाले झाँकी निकालेका थिए । खेलकुद विकास समितिको कार्यालयबाट निकालिएको ¥याली हेटौंडा बजारपरिक्रममा गरी महोत्सवस्थल पुगेको थियो ।

महोत्सव उद्घाटन समारोहमा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, पूर्वनगरप्रमुख हरिबहादुर महत, हेटौंडा उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडाअध्यक्ष सविन न्यौपाने, वडाअध्यक्षहरु रामकृष्ण कोइराला, सुनिल मोक्तान, जुना दाहाललगायत, शिक्षाप्रेमी पुरनबहादुर जोशी, खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष सानुकुमार लामा, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न खेलकुद सम्बन्धी संघसंस्थाका अध्यक्षहरु, खेलका प्रशिक्षकहरु, औद्योगिक शान्ति नेपाल संस्थाका प्रमुख सन्दीप महतलगायत विभिन्न युवा क्लब तथा टोल विकास संस्थाका अध्यक्षको आतिथ्यता रहेको थियो ।

महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटोमोबाइलका साथै बालउद्यान समेत राखिएको छ । मेलामा करिब २ सय ६० वटा स्टल रहेका छन् । महोत्सवमा दैनिक नेपालका चर्चित राष्ट्रिय कलाकारको सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुती रहने आयोजकले जनाएको छ । पुस १७ गतेसम्म चल्ने महोत्सवमा दैनिक विभिन्न खेलकुद प्रतियोगिता हुनेछ । प्रतियोगिता अवधिभर १२ वटा विधामा विभिन्न खेलकुद प्रतियोगिता राखिएको खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष खड्कीले जानकारी दिए । महोत्सवमा खुला नृत्य प्रतियोगिता र लाइभ दोहोरी कार्यक्रमसमेत राखिएको जनाइएको छ ।

महोत्सवमा एथ्लेटिक्स, ब्याड्मिन्टन र तेक्वान्दोको जिल्लास्तरीय प्रतियोगिता, अन्तरजिल्ला महिला फुटबल, तेक्वान्दोको राष्ट्रिय खेल, क्युकोसिन र आइटिएफ, उसुको राष्ट्रिय खेल, हक्की, महिला राष्ट्रिय भलिबल, कबड्डी र महिला तथा पुरुषको रेस्लिङ हुने समितिका अध्यक्ष खड्कीले बताए । उद्घाटनको दिन एथ्लेटिक्स प्रतियोगिता भएको छ भने ६ पुस शुक्रबार जिल्लास्तरीय व्याड्मिन्टन प्रतियोगिता हुनेछ ।

पुस ७ गते जिल्लास्तरीय तेक्वान्दो, ८ गतेबाट अन्तरजिल्ला महिला फुटबल, ९ गते राष्ट्रिय तेक्वान्दो, १० गते क्युकोसिन र आइटिएफ, ११ र १२ गते राष्ट्रिय उसु, १२, १३ र १४ गते पिप्ले क्याम्पा रंगशालामा हक्की, १३, १४, १५ र १६ गते महिला राष्ट्रिय भलिबल प्रतियोगिता, १३ गते महिला र पुरुषको रेस्लिङ तथा १७ गते कबड्डी प्रतियोगिता तय गरिएको छ । प्रतियोगितामा विजेता तथा उपविजेतालाई ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । खेलकुद महोत्सवबाट करिब २५ लाख रुपैयाँ बचत गर्ने खेलकुद विकास समितिले लक्ष्यराखेको छ । महोत्सवबाट प्राप्त हुने रकमबाट खेल र खेलाडीको वृत्ति विकासमा लगाउने योजना समितिको छ ।

दौडतर्फ पुरुषमा राई, महिलामा थापा विजयी

हेटौंडामा सुरु भएको खेलकुद महोत्सवअन्तर्गत पहिलो दिन भएको दौड प्रतियोगितामा पुरुषतर्फ सोहन राई र महिलातर्फ रेश्मा थापा विजयी भएका छन् ।अन्य ३४ खेलाडीलाई पराजित गर्दै पुरुषतर्फ राई प्रथम भएका हुन् । दौडमा सन्तोष गौतम द्वितीय र नवराज कार्की तृतीय भए । यस्तै महिलातर्फ २६ खेलाडीलाई पछि पार्दै रेश्मा थापा प्रथम भएकी हुन् । सजिना स्याङ्तान द्वितीय र सरिता हुमागाईं तृतीय भइन् । महिला र पुरुष दुवैतर्फको प्रथम, द्वितीय र तृतीय भएका खेलाडीले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । शुक्रबार जिल्लास्तरीय ब्याड्मिन्टन प्रतियोगिता हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*