७ नम्बर वडाले जित्यो अध्यक्ष कपको उपाधि

साझाकुरा
२०८० पुष ८, आईतवार ११:५८

हेटौंडा-मनहरी गाउँपालिका अध्यक्ष कपको चौथो संस्करणको उपाधी ७ नम्बरको पोल्टामा परेको छ । फाइनलमा २ नम्बर वडालाई १–० गोल अन्तरले हराउँदै ७ ले उपाधी हात पारेको हो । ७ नम्बरलाई उपाधी जिताउन मनिष पौडेलले गोल गरे । खेलको दोस्रो हाफको ५४ औं मिनेटमा पौडेलले गरेको गोल नै निर्णायक बनेको थियो । बिजेता ७ नम्बरले एक लाख रुपैयाँ प्राप्त गर्दा उपबिजेता २ नम्बरले ५० हजारमै चित्त बुझायो । गत मंगलबार भएको पहिलो सेमिफाइनलमा २ नम्बर वडाले ६ नम्बर वडालाई ट्राइबेकरमा ५–३ ले पछि पार्दै फाइनल यात्रा तय गरेको हो । मंगलबार नै भएको खेलमा ७ नम्बर वडाले ८ नम्बर वडालाई १–० गोल अन्तर हराउँदै उपाधि नजिक पुगेको थियो ।

फाइनल खेलको म्यान अफ द म्याच र सर्वोत्कृष्ट खेलाडी २ नम्बरका अशोक मोक्तान भए । उनले म्यान अफ द म्याचको २ हजार र सर्वोत्कृष्ट खेलाडीको १० हजार प्राप्त गरे । अन्य विधागत उत्कृष्टको पुरस्कार बिजेता टिमकै नाममा रह्यो । उत्कृष्ट गोलकिपर आशिष राउत, डिफेन्डर सुदीप सापकोटा, मिडफिल्डर कपिल मोक्तान, सर्वाधिक गोलकर्ता मनिष पौडेल र प्रशिक्षक सागर स्याङ्तान घोषित भए । उनीहरुले जनही नगद ५ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको फाइनलमा यू १६ बाट खेलिसकेका मनहरीका फुटबल खेलाडी सन्तोष गोङ्बा र कृषल मोक्तानलाई नगद १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । प्रतियोगिताको समापना मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी, अखिल नेपाल फुटबल संघ एन्फा केन्द्रीय सदस्य टीकाराम लामा, ७ नम्बर वडाका कार्यबाहक अध्यक्ष नवराज सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।अध्यक्ष कप फुटबल प्रतियोगिता मनहरी गाउँपालिकाको सहयोग र मनहरी खेलकुद विकास समितिले आयोजना गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*