थाहामा राष्ट्रपति रनिङशिल्ड खेलकुद सुरु

साझाकुरा
२०८० पुष ९, सोमबार १२:१५

हेटौंडा-थाहा नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता तथा छैठौं मेयरकप भलिबल प्रतियोगिता सुरु भएको छ ।इन्द्रायणीचौरमा सुरु भएको प्रतियोगिताको नगरप्रमुख विष्णु विष्टले उद्घाटन गरेका छन् । प्रतियोगिताको पहिलो दिन भएको प्रतियोगितामा टिष्टुङको वागेश्वरी मावि ६ स्वर्णसहित अग्रस्थानमा छ । ४ स्वर्णसहित जनकल्याण मावि दोस्रो र २ स्वर्ण सहित नाट्यश्वर मावि टौखेल तेस्रो स्थानमा रहेका छन् ।

८ पुसमा भएको १५ सय मिटर छात्र दौडतर्फ बागेश्वरी माविले स्वर्ण, झम्केश्वरी माविले रजत तथा बागेश्वरीले नै कास्यपदक हात पार्दा १५ सय मिटर छात्रा तर्फ जनकल्याण स्वर्ण, झम्केश्वरी रजत तथा झम्केश्वरीले नै कास्यपदक हात पार्न सफल भएको छ ।

सटफुट छात्रातर्फ बागेश्वरीले स्वणर्, सुनौलाले रजत र कास्यपदक जितेका छन् भने सटफुट छात्रतर्फ जनकल्याणले स्वर्ण र रजत तथा झम्केश्वरीले कास्यपदक प्राप्त गरेका छन् । ज्याभलिङ थ्रो छात्रतर्फ बागेश्वरी माविले स्वर्ण जित्दा झम्केश्वरीले रजत र जनकल्याणले कास्य हात पारेको छ । ज्याबलिङ थ्रो छात्रातर्फ मत्स्यनारायण माविले स्वर्ण र रजत तथा बागेश्वरीले कास्यपदक जितेको छ ।

त्रिपलजम्प छात्रतर्फ बागेश्वरीले स्वर्ण, जनकल्याणले रजत तथा झम्केश्वरीले कास्य जित्दा रिले १०० इन्टु ४ छात्रतर्फ बागेश्वरी स्वर्ण, झम्केश्वरी रजत तथा सुनौलाले कास्य जितेको छ । त्यतै, छात्रातर्फ जनकल्याणले स्वर्ण, झम्केश्वरीले रजत र सुनौलाले कास्य जितेको छ । मार्चपासतर्फ नाट्यश्वर प्रथम जनकल्याण दोस्रो र पालुङ भ्याली तेस्रो भयो भने ८ सय मिटर छात्र दौडमा नाट्यश्वरले स्वर्ण, जनकल्याण रजत र कास्य प्राप्त गर्न सफल भएका छन् ।

८ सय मिटर छात्रातर्फ जनकल्याणले स्वर्ण र रजत हात पार्दा बागेश्वरीले कास्यपदक जित्न सफल भएको छ भने लङगजम्प छात्रतर्फ बागेश्वरीले स्वर्ण, इअन बोर्डिङले रजत तथा जनकल्याणले कास्य पदक हात पारेको छ । १४ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा कराते, एथलेटिक्स, कबड्डी, भलिबल छात्रछात्रा लगायतका विधा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*