श्रमिक माविमा राष्ट्रिय मावि बर्दियाको टोली
हेटौंडा-श्रमिक मावि हेटौंडा–४ मा नेपाल राष्ट्रिय मावि बर्दिया वाँसगढी नगरपालिका–५ को टोलीले शैक्षिक अध्ययन अवलोकन भ्रमण गरेको छ । श्रमिक माविमा भएका सकारात्मक अभ्यास साटासाट गर्न नेपाल राष्ट्रिय मावि बर्दियाको टोली हेटौंडा आइपुगेको हो ।अवलोकन भ्रमणका क्रममा वाँसगढी नगरपालिका–५ बर्दियाका वडाअध्यक्ष दहवा थारु, विव्यस अध्यक्ष भीमबहादुर खत्री, प्रधानाध्यापक नीराजन चापागाईलगायत ३५ जनाको टोलीले श्रमिक मावि हेटौंडामा अनुभव साटासाट गरेका हुन् । श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहालले विद्यालयले सञ्चालन गरेका नवीनतम शैक्षिक अभ्यासलाई प्रष्ट पारेका थिए ।
श्रमिक माविका तर्फबाट विव्यस अध्यक्ष विवेक कार्की, पिटिए अध्यक्ष राजेन्द्र वस्ताकोटी, सल्लाहकार ईश्वरी कोईराला लगायत शिक्षकले भ्रमणटोलीलाई स्वागत गरेका थिए । पछिल्लो समय श्रमिक माविमा अवलोकन भ्रमणका लागि आउनेहरुको उपस्थिति बाक्लो रहेको प्रधानाध्यापक दाहालले बताए । श्रमिक माविले अंग्रेजी तथा नेपाली माध्यम दुबैमा पठनपाठन गर्दै आएको छ । मन्टेश्वरी कक्षा सञ्चालन, अभिभावकले घरबाट नै बालबालिकाको प्रत्यक्ष निगरानी राख्न पाउनेगरी सिसिटिभिको व्यवस्था, प्रत्येक शनिवार स्तरवृद्धि परीक्षा, अनुपस्थित विद्यार्थीका अभिभावकलाई प्रत्यक्ष टेलिफोन सम्पर्क, सूचना प्रविधिमैत्री कक्षाकोठाको व्यवस्थालगायत श्रमिक माविले थुप्रै सकारात्मक शैक्षिक अभ्यासहरु गर्दै आएको छ ।
विद्यालयले कारणवश खाली हुन गएका कक्षाकोठामा स्वयम्सेवक शिक्षक व्यवस्थापन गर्ने, विद्यालयको नियमित गतिविधि समेटिएको वार्षिक शैक्षिक क्यालेण्डर सम्वन्धित विद्यार्थी र अभिभावकको हातहातमा पु¥याउने लगायतका कार्यहरु गर्दै आएको छ । भ्रमण टोलिलाई प्रधानाध्यापक दाहालले विद्यालयका समग्र गतिविधि समेटिएको डिजिटल दस्तावेजका स्लाईड प्रस्तुती गरेका थिए ।