थाहा राष्ट्रपति रनिङशिल्डमा जनकल्याणको ह्याट्रिक
हेटौंडा-थाहा नगरपालिकास्तरीय छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि जित्दै जनकल्याण माविले ह्याट्रिक गरेको छ ।जनकल्याण माविले लगातार तेस्रोपटक नगरस्तरीय छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि जितेको हो । रनिङशिल्डमा लगातार तीन पटकसम्म उपाधि जिते पदक हातपार्ने नियम हुन्छ । जस अन्तर्गत् जनकल्यणले राष्ट्रपति शिल्ड आफ्नै बनाएको छ । प्रतियोगिताको मेयरकप छात्र र छात्रा भलिबल उपाधि भने पालुङको मत्स्यनारायण माविले जितेको छ । थाहाको छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सबैभन्दा लोकप्रिय खेल भलिबलहो । जिल्लामै थाहा भलिबलमा उत्कृष्ट क्षेत्र हो ।
जनकल्याण माविले राष्ट्रपति रनिङशिल्डमा १७ स्वर्ण, १४ रजत र ७ कास्यपदक सहित प्रथम भएको छ । त्यसैगरी ९ स्वर्ण, ३ रजत र ५ कास्यसहित बागेश्वरी मावि टिष्टुङ दोस्रो र ३ स्वर्ण ८रजत ५ कास्य सहित झम्केश्वरी मावि ओखरबजार तेस्रो बन्न पुग्यो । मेयरकप भलिबल प्रतियोगिताको फाइनल खेलमा मत्स्यनारायणका छात्र र छात्रा समूहले नाट्यश्वरको छात्र र छात्रा समूहलाई पराजित गरी प्रथम भएको छ भने छात्रातर्फ जनकल्याण र छात्रतर्फ बज्रबाराही मावि तेस्रो भएको छ । मेयरकप भलिवलमा दुवै मत्स्यनारायणका प्रवल कार्की र बिमलामाया वाइवा उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
विजेता विद्यालय र विद्यार्थीलाई प्रमुख अतिथि थाहा नगरपालिका प्रमुख बिष्णुबहादुर बिष्टले शिल्ड, मेडल, प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिए । थाहा नगरपालिका खेलकुद विकास समिति संयोजक टीकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्न समारोहमा थाहानगर उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, थाहा वडा नम्बर १ का अध्यक्ष हेरमान गोपाली, वडा नम्बर ४ का अध्यक्ष नारायण लामा, थाहानगर शिक्षा शाखाका अधिकृत माधवबिक्रम मल्ललगायतको उपस्तिथि रहेको थियो । प्रतियोगितामा नगरपालिकाभित्रका १० सामुदायिक र ४ वटा संस्थागत विद्यालयको सहभागिता रहेको थियो ।