राष्ट्रिय महिला भलिबलको फाइनलमा एपिएफ र न्यूडाइमण्ड
हेटौंडा- हेटौंडाको टिसिएनचौरमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरीको एपिएफ क्लव र चन्द्रागिरी नगरपालिका न्यूडाइमण्ड क्लव भिड्ने भएका छन् ।सिंगल राउण्ड रोविनको आधारमा सञ्चालन भएको प्रतियोगिताको उपाधिका लागि यी दुई टिम भिड्ने भएका हुन् । एपिएफ ११ अंककासाथ समूह विजेता र न्यूडाइमण्ड १० अंकसहित समूह उपविजेता हुँदै फाइनलमा प्रवेशगरेका हुन् । समूह चरणको अन्तिम खेलमा न्यूडाइमण्डले त्रिभुवन आर्मीलाई र एपिएफले नेपाल पुलिस क्लवलाई हराएको थियो । न्यूडाइमण्डले आर्मीलाई १६–२५, २५–१९, २५–१६ र २५–२३ को सेटमा हराएको हो ।
खेलको प्लेयर अफ द म्याच न्यूडाइमण्डकी जेनिसा विक घोषित भइन् । यस्तै फाइनल प्रवेश गर्ने क्रममा एपिएफले प्रहरीलाई२३–२५, २५–१९, २५–२१ र२५–१६ को सेटमा हराएको छ । खेलको प्लेयर अफ द म्याच एपिएफकी निरुता ठगुन्ना घोषित भइन् । फाइनल खेल सोमबार दिउँसो २ बजेबाट हुने आयोजकले जानकारी दिएको छ । हेटौंडामा सञ्चालन भैरहेको बृहत् खेलकुद तथा व्यापार महोत्सवमा केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता भएको हो ।
प्रतियोगितामा चन्द्रागिरी नगरपालिका न्यूडाइमण्ड क्लव, नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव, एपिएफ क्लव र मकवानपुरको छहारी युवा सेवासमाजको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एकलाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै सेमिफाइनलबाट बाहिरिएका दुई टिमले नगद ५०÷५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले १५ हजार तथा विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजक मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष वसन्तकुमार सिटौलाले जानकारी दिएका छन् ।