नगरस्तरीय हाजिरीजवाफमा १० नम्बर वडा प्रथम
हेटौंडा-नगरस्तरीय बालसमूह संजालको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा शनिबार हेटौंडामा भएको नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा १० नम्बर वडा प्रथम भएको छ । प्रतियोगितामा १७ नम्बर वडा द्वितीय, ४ नम्बर वडा तृतीय र ११ नम्बर वडा चौथो भएको हो ।बालमैत्री स्थानीय शासन घोषणाको तयारीमा रहेको हेटौंडा उपमहानगरपालिकाले बालमैत्री क्रियाकलापको रुपमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा विजयी हुने बालबालिकालाई पुरस्कारस्वरुप पुस्तक, पेन र डायरी वितरण गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता एवम् नगरस्तरीय बालसमूह संजालका अध्यक्ष सौरज देवकोटाको सभाध्यक्षतामा हाजिरीजवाफ प्रतियोगिता भएको हो ।कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँ, महिला तथा बालबालिका महाशाखाप्रमुख विष्णुकुमारी लामिछाने, बालमैत्री वडा सम्पर्क व्यक्तिहरु, वडा सहजकर्ताहरु, वडास्तरीय बालसमूह संजालका प्रतिनिधिहरु, नगर सजांलका प्रतिनिधिहरु, विभिन्न संघसस्थाका प्रमुख एवम् प्रतिनिधिहरु, अभिभावकहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा १९ वटै वडाबाट सहभागिता रहेको थियो ।