हेटौंडा अस्पतालमा २ सय ७६ किशोरी आमा बने

 निशा गुरुङ
२०८० पुष १८, बुधबार ०९:५३

हेटौंडा-मकवानपुरमा बालविवाह नरोकिँदा सानो उमेरमा नै किशोरीहरु आमा बन्ने गरेका छन् । स्थानीय सरकारले बालविवाह रोक्न विभिन्न कार्यक्रम संचालन गरे पनि यस प्रकारका विवाह रोकिएको छैन, जसकारण कलिलो उमेरमे विवाह हुँदा २० वर्ष मुनिका किशोरीहरु आमा बन्नेको संख्या बढ्दो अवस्थामा छ ।हेटौंडा अस्पतालमा गत आर्थिक वर्षमा २० वर्षमुनिका २ सय ७६ जना किशोरी आमा बनेका छन् । आव ०७९÷८० मा हेटौंडा अस्पतालमा ३ हजार ९ सय १ जना सुत्केरी भएका छन् । तीमध्ये २० वर्षमुनिका २ सय ७६ जना किशोरी रहेको अस्पतालले जनाएको छ । हेटौंडा अस्पतालका अनुसार सबैभन्दा कम उमेरका १६ वर्षका चार किशोरी आमा बनेका थिए ।

उपमहानगरभित्र गत आवमा २० वर्षमुनिका ३ सय ३० किशोरीले पहिलोपटक आफ्नो गर्भ जाँच गराएका थिए । चारपटक गर्भ जाँच गराउने किशोरीको संख्या २ सय ८० छ ।अघिल्लो आवमा हेटौंडाभित्र २० वर्षभन्दा कम उमेरका ५ सय २७ किशोरीले पहिलोपटक गर्भ परीक्षण गराएका थिए । तीमध्ये १ सय ७९ जनाले मात्र चारपटक गर्भ जाँच गराएको हेटौंडा अस्पतालका चिकित्सक डा. हरि खड्काले बताए । २० वर्षभन्दा माथिका ३ हजार ६ सय ६७ महिलाले गत आवमा पहिलोपटक गर्भ जाँच गराएका छन् । जसमध्ये २ हजार ८७ ले ४ पटक गर्भ जाँच गरेका छन् । अघिल्लो आवमा २० वर्षभन्दा बढी उमेरका २ हजार ७ सय २८ महिलाले पहिलोपटक गर्भ जाँच गरेका थिए । जसमध्ये ४ पटकसम्म १ हजार ३ सय ८९ ले गर्भ जाँच गराएका थिए ।

गर्भावस्थाका बारेमा पहिलोपटक परीक्षण गर्नेको संख्या उल्लेख्य भए पनि ४ पटक गर्भ जाँच गराउने महिलाको संख्या भने निकै कम देखिन्छ । ४ पटक गर्भ जाँच गराउनेलाई सरकारले प्रोत्साहनस्वरुप यातायात खर्च प्रदान गर्दै आएको छ । नियमित गर्भ जाँच गर्दा भ्रुणको अवस्था, गर्भवतीको स्वास्थ्यसँगै आवश्यक सुई लगाउने, औषधि खुवाउने र पोषणसम्बन्धी अभिमुखीकरणसमेत गराउने गरिन्छ । ‘यो तथ्यांकले समुदायमा विद्यमान बालविवाहको अवस्था झक्लिन्छ,’ डा. खड्काले भने । कम उमेरमै गर्भवती हुँदा आमा र शिशुको स्वास्थ्यमा धेरै खालको असर पर्ने र ज्यानसमेत जोखिम हुने उनले बताए ।

चालु आवको पहिलो महिना अर्थात् साउनमा हेटौंडा अस्पतालमा चार सय महिला सुत्केरी भएका छन् । तीमध्ये ५७ जना २० वर्षमुनिका रहेको अस्पतालकास्त्रीरोग विशेषज्ञ डा. रामकाजी महर्जनले बताए । १६ वर्षमा बिहे भएकी २० वर्षीया एक युवतीले अस्पतालमै शल्यक्रिया गरेर तेस्रो सन्तान जन्माएकी थिइन् । २० वर्षभन्दा कम उमेरको विवाह गैरकानुनी भए पनि समाजमा बालविवाह रोकिन सकेको छैन । १९ वडामा विभाजित हेटौंडा उपमहानगरभित्र विकट ग्रामीण बस्ती पनि छन् ।उपमहानगर प्रमुख मीनाकुमारी लामाले हेटौंडा उपमहानगरमा विकट र साबिकका ५ गाविस मिसिएर बनेको भन्दै त्यस्ता शिक्षा र चेतनाको कमीका कारण बालविवाह पूरै हट्ननसकेको बताइन् ।

उपमहानगरभित्र गत आवमा २० वर्षभन्दा कम उमेरका १ सय १ जना गर्भवतीले औषधिका माध्यमबाट गर्भपतन गराएका छन् भने शल्यक्रिया गरी १ सय ५ जनाले गर्भपतन गराएका थिए । अघिल्लो आवमा २० वर्षमुनिका ९६ जनाले औषधिको प्रयोग गरी गर्भपतन गराएका थिए भने १ सय २६ जनाले शल्यक्रिया गरी गर्भपतन गराएका थिए ।मकवानपुरको उत्तरपश्चिमी क्षेत्रमा पर्ने राक्सिराङ, कैलाश गाउँपालिका र पूर्वी क्षेत्रमा पर्ने बकैया र बागमती गाउँपालिकामा पनि उमेर नपुग्दै बिहे गर्ने र किशोरावस्थामै आमा बन्नेको संख्या उल्लेख्य छ । बालविवाह रोक्न नसकेसम्म किशोरी आमाको संख्या कम गर्न चुनौतीपूर्ण बनेको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयकी अधिकृत चन्दा श्रेष्ठले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*