मकवानपुरगढीमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता

साझाकुरा
२०८० पुष १९, बिहीबार १०:१८

हेटौंडा-मकवानपुरगढी गाउँपालिकामा गाउँस्तरीय राष्ट्रपति रनिङशिल्ड छनोट प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगिता मकवानपुरगढी–२, स्थित कुर्लेमा सञ्चालन भएको हो ।२ दिनसम्म चल्ने प्रतियोगितामा विभिन्न खेल विधामा मकवानपुरगढी गाउँपालिका भित्रका १० वटा माध्यमिक विद्यालयका करिब चारसय जना छात्र÷छात्रा सहभागी भएका छन् । प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीले विभिन्न प्रस्तुति सहित मार्चपास गरेका थिए । विद्यार्थीले मार्चपासमा आफ्नो विद्यालयको नाम सहितको ब्यानर र नेपालको राष्ट्रिय झण्डा समेत लिएका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै सामाजिक विकासमन्त्री कुमारी मोक्तानले विद्यार्थीको खेल क्षेत्रमा प्रगतिका लागि यस्तै खेलकुद कार्यक्रम आवश्यक रहेको बताइन् । खेलकुदको विकाससँगै विद्यार्थीबीच रहेको खेल प्रतिभाको उजागर गर्नका लागि यस्तै कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई रहेको थियो । गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान र उपाध्यक्ष मानकुमारी पाख्रिनले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए ।

खेलकुद विकास समिति मकवानपुरगढी गाउँपालिकाको आयोजना तथा वंशगोपाल माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को व्यवस्थापन तथा समन्वयमा भएको कार्यक्रममा मकवानपुरगढी खेलकुद विकास समितिका अध्यक्ष हीरा स्याङ्तानको अध्यक्षतामा प्रतियोगिता भएको हो । कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की, २ नम्बर वडाका अध्यक्ष बखानसिं पाख्रिन, ३ नम्बर वडाअध्यक्ष भागवत घिमिरे, ४ नम्बर वडाअध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, ५ नम्बर वडाअध्यक्ष दिपेश दाहाल लगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*