खेलकुद तथा व्यापार महोत्सवको समापन

साझाकुरा
२०८० पुष १९, बिहीबार १०:२६

हेटौंडा- हेटौंडाको टिसिएनचौरमा आयोजना भएको बृहत् खेलकुद तथा व्यापार महोत्सवको समापन भएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिले औद्योगिक शान्ति नेपाल संस्थासँगको सहकार्यमा पुस ५ गतेबाट सञ्चालन भएको महोत्सव बुधबार समापन गरिएको हो ।खेलकुद तथा व्यापार महोत्सव सबैको सहयोगबाट सम्पन्न भएको आयोजक खेलकुद विकास समिति अध्यक्ष भेष खड्कीले जानकारी दिए । महोत्सवमा एथ्लेटिक्स, ब्याड्मिन्टन, तेक्वान्दो, महिला फुटबल, राष्ट्रिय तेक्वान्दो, क्युकोसिन, आइटिएफ, राष्ट्रिय उसु, हक्की, महिला राष्ट्रिय भलिबल,रेस्लििङ र कबड्डी प्रतियोगिता सञ्चालन भएको थियो । महोत्सवमा ४० जना भन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारले दैनिक प्रस्तुती दिएका थिए ।

बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा महोत्सव समापन भएको हो । खेल क्षेत्रको विकास गर्ने उद्देश्यसहित आयोजित महोत्सव सफलतापूर्वक सम्पन्न भएको भन्दै उनले आयोजकलाई धन्यवाद ज्ञापन गरिन् । उद्देश्यअनुरुपको काम गर्न अनुरोध गर्दै उनले खेलसहित जिल्लाको विकासका लागि आफ्नो तर्फबाट गर्नुपर्ने भूमिका निर्वाह गर्न कुनै कसर बाँकी नराख्ने उनको प्रतिबद्धता रहेको थियो । खेलकुद क्षेत्रको विकासका लागि योजनाबद्ध काम गर्न उनले खेल सम्बद्ध संघसंस्थाका प्रमुख प्रतिनिधिलाई अनुरोध गरिन् ।

आयोजक खेलकुद विकास समितिका अध्यक्ष खड्कीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१ का वडाअध्यक्ष एवम् प्रवक्ता सविन न्यौपाने, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य एवम् खेलकुदका पूर्वअध्यक्ष माधव तिमल्सिना, नेपाल बक्सिङ महासंघका केन्द्रीय उपाध्यक्ष सविन भट्टाचार्य, खेलकुद विकास समितिका अध्यक्ष आलोक स्याङ्तान, औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महत लगायतले महोत्सवमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै जिल्लाको खेलक्षेत्रको विकासका लागि आयोजित महोत्सव सफल भएको धारणा राखे ।

महोत्सवको समापनका क्रममा खेलकुद विकास समितिका पूर्वअध्यक्षहरुलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान सम्मान गरिएको थियो । महोत्सव अवधिभर राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय गरी १३ वटा विधामा खेलकुद प्रतियोगिता भएको थियो । खेलकुद प्रतियोगितामा सहभागी भएर फर्कने क्रममा एक जना खेलाडीको बस दुर्घटनामा निधन भएको थियो ।

महोत्सवको अन्तिम दिन महिला तथा पुरुष कबड्डी प्रतियोगिता सञ्चालन भएको थियो । समापनका क्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्षहरु, हेटौंडा उपमहानगरपालिकाका वडा अध्यक्षहरु, विभिन्न खेलकुद संघका अध्यक्षहरुलगायतको आतिथ्यता रहेको थियो । महोत्सवको अन्तिम दिन गायक राजनराज शिवाकोटी, गायिका प्रतिमा अर्याल, लोकेन लामा, मानस राज र रमेश श्रेष्ठ मेलोडीले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*