छात्रवृत्ति कोषमा पूर्वविद्यार्थीद्वारा ६ लाख सहयोग

साझाकुरा
२०८० पुष २२, आईतवार १०:५४

हेटौंडाहेटौंडा उपमहानगरपालिका–६ चौघडामा रहेको बंशगोपाल मावि (प्राविधिक शिक्षालय) ले शुभारम्भ गरेको अक्षयकोषमा विद्यालयका पूर्वविद्यार्थीको समूहले ६ लाख रुपैयाँ सहयोग गरेका छन् । विद्यालयमा शनिबार भएको विपन्न तथा जेहन्दार विद्यार्थी छात्रवृत्ति एवम् विषयगत सहयोगका लागि अक्षयकोष शुभारम्भ कार्यक्रममा २०४४ एसएलसी व्याचका अध्यक्ष अजयविक्रम मानन्धरले समूहको तर्फबाट तीन लाख रुपैयाँको चेक वडाअध्यक्ष विष्णुबहादुर दाहाललाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा मानन्धरले विद्यालयका पूर्वविद्यार्थीको नाताले २०४४ व्याचले अक्षयकोषमा थप सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

अक्षयकोषमा विद्यालयका पूर्वशिक्षक शम्भुप्रसाद आचार्यबाट १ लाख २३ हजार ४ सय ५६, अजयविक्रम मानन्धरबाट आमाबुबाको स्मृतिमा १ लाख ११ हजार १ सय ११, सुपेन्द्र बस्नेतबाट ५० हजार, श्यामप्रसाद श्रेष्ठ ५० हजार रूपैयाँ सहयोग प्राप्त भएको छ । कोषमा हेटौंडा–६ वडा कार्यालयले आगामी आर्थिक वर्षमा ५ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ । शनिबारमात्र कोषमा ६ लाख रुपैयाँ जम्मा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठले बताए ।

आर्थिक विपन्नताको कारण शिक्षा पाउनबाट विद्यार्थी बञ्चित हुन नपरोस भन्ने उद्देश्यले स्थापना भएको अक्षयकोषमा अबनिरन्तर रकम थप्ने काम जारी रहने अध्यक्ष श्रेष्ठले बताए । हेटौंडा–६ का वडाअध्यक्ष दाहालको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका पूर्वशिक्षकशम्भुप्रसाद आचार्य, पूर्वअध्यक्ष बालकृष्ण चौलागाईं, पूर्वविद्यार्थी संगठनका अध्यक्ष शालिकराम घिमिरे, चौघडा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विजयकुमार श्रेष्ठलगायतले अक्षयकोष शुभारम्भको प्रशंसागर्दै कोषले लक्षित क्षेत्रमा लाभ हासिल गर्न गर्नुपर्ने कार्यबारे सुझाव दिएका थिए ।

कार्यक्रममा पूर्वव्यवस्थापन समितिका प्रतिनिधि, पूर्वविद्यार्थी र शिक्षक, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो । विद्यालयमा हाल १२ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*