हेटौंडा क्याम्पसको साधारणसभा
हेटौंडा-मकवानपुरको परिचित शैक्षिक संस्था हेटौंडा क्याम्पसको शनिवार १५ औं वार्षिक साधारणसभा भएको छ । क्याम्पस सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीको सभाध्यक्षता तथा बागमती प्रदेश सरकारका भूमि उद्योग तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारको प्रमुख अतिथ्यतामा साधारणसभा भएको हो ।साधारणसभामा बागमती प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठ, क्याम्पस सञ्चालम समिति निवर्तमानअध्यक्ष तथा पूर्वप्रदेश सांसद मुनु सिग्देल, हेटौंडा उपमहानगरपालिका प्रवक्ता एवम् १ नम्बर वडाअध्यक्ष सविन न्यौपानेलगायतको आतिथ्यता रहेको थियो । क्याम्पसले कक्षा ११ र १२ मा शिक्षा, व्यवस्थापन र मानविकीका विषय, स्नातक तहमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा शिक्षा संकाय (बीएड)तर्फ अंग्रेजी, नेपाली, गणित, जनसंख्या, स्वास्थ्य, विज्ञान र अर्थशास्त्रको अध्यापन भइरहेको छ ।
मानविकी संकायमा अंग्रेजी, समाजशास्त्र, ग्रामीण विकास तथा गणित विषयको कक्षा सञ्चालन भइरहेको छ । क्याम्पसमा शिक्षाशास्त्र संकायको स्नातकोत्तरको अध्यापन पनि हुँदै आएको सञ्चालक समिति अध्यक्ष पराजुलीले जानकारी दिए । उनकाअनुसार स्नातकोत्तरमा नेपाली, गणित, स्वास्थ्य, अंग्रेजी र शैक्षिक योजना तथा व्यवस्थापन विषय पढाई भइरहेको छ । ७७ जना प्राध्यापक, कर्मचारी कार्यरत रहेको क्याम्पसमा कम्प्युटर प्रयोगशाला, ई–पुस्तकालय, पुस्तक सहितको आधुनिक पुस्तकालय निर्माणको योजना बनाइएको छ ।
साधारणसभामा क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष नमूना पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । गत आर्थिक वर्ष २०७९÷८० मा ८ करोड ६ लाख ६२ हजार ९ सय ३२ रुपैयाँ क्याम्पसको आम्दानी रहेको कोषाध्यक्ष पाण्डेले बताइन् । उनले चालु आव २०८०÷८१ मा ९ करोड ८४ लाख बढी आम्दानी हुने अनुमानित विवरण प्रस्तुत गरेकी छन् ।