राष्ट्रियसभा निर्वाचन बागमतीको चार सिटमा १५ जना उम्मेद्वार, गठबन्धनको मतभार दोब्बर

साझाकुरा
२०८० पुष २४, मंगलवार १०:१६

हेटौंडा-आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशको चार सिटका लागि १५ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।सोमवार हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सत्तारुढ गठबन्धनको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट चारजना, नेकपा एमालेको तर्फबाट चारजना, राप्रपातर्फबाट तीनजना र नेपाल मजुदर किसान पार्टी (नेमकिपा)बाट ४ जना गरी जम्मा रिक्त ४ सिटका लागि १५ जनाले उम्मेद्वारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश, हेटौंडाका निमित्त निर्वाचन अधिकारी ताराप्रसाद आचार्यले जानकारी दिए ।

राष्ट्रियसभामा बागमतीको ४ सिट एमालेका दिलकुमारी रावल र रामचन्द्र राई, नेकपा एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र स्वतन्त्र सांसद खिमलाल देवकोटाको कार्यकाल सकिएसँगैरिक्त पदमा निर्वाचन हुन लागेको हो । रावल महिला, राई अपांगता÷अल्पसंख्यक, विश्कर्मा दलित र देवकोटा अन्य समूहबाट निर्वाचित भएका थिए । अब ती चारवटै समूहमा छुट्टाछुट्टै प्रतिस्पर्धा हुने भएको छ ।

सत्तारुढ गठबन्धनको कांग्रेसबाट महिला क्लस्टरमा काठमाडौंकी विष्णुदेवी पडासैनी, कांग्रेसबाटै अन्य क्लस्टरबाट ललितपुरका जीतजंग बस्नेतले उम्मेद्वारी दिए । गठबन्धनकै माओवादी केन्द्रबाट अपा· क्लस्टरमा श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट दलित क्लस्टरका घनश्याम रिजाल विश्वकर्माले मनोनयन दर्ता गरेका हुन् । यसैगरी, राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले महिला क्लस्टरमा दोलखाकी रोजकुमारी चौलागाइ, अन्यमा काठमाडौंका विवेक देवकोटा, दलित क्लस्टरमा धादिङ्का ध्रुव विश्वकर्मा र अपाङ्गता क्लस्टरमा चितवनका त्रिलोचन निर्मल पौडेलले मनोनयन दर्ता गरेका छन् ।

राप्रपाको अन्य क्लस्टरमा काठमाडौंका हेमजंग गुरुङ, महिला क्लस्टरमा मकवानपुरकी बालकुमारी डल्लाकोटी र अपा· क्लस्टरमा चितवनका भरतमणि भट्टले उम्मेदवारी दर्ता गराएका थिए । राप्रपाले दलित क्लस्टरमा भने उम्मेदवारी दिन पाएन । दलित क्लस्टरमा उम्मेदवार बनाइएका पूर्णबहादुर विश्वकर्माको उम्मेर कम भएको भन्दै मनोनयन दर्ता हुन सकेन । विश्वकर्मा उम्मेदवारी दर्ता गर्न तयारीका साथ निर्वाचन कार्यालय आइपुगेका थिए । राष्ट्रियसभा सदस्य पदमा उम्मेदवारी दिन ३५ वर्ष पूरा भएको हुनुपर्ने कानुनी प्रावधान अनुसार उनको मनोनयन दर्ता नभएको हो ।

यसैगरी, नेपाल मजुदर किसान पार्टी (नेमकिपा)बाट अन्य क्लस्टरमा काठमाडौंका श्रीकृष्ण महर्जन, महिला क्लस्टरमा भक्तपुरकी कृष्णलक्ष्मी दुवाल र दलित क्लस्टरमा भक्तपुरकी संगीता नेपालीले मनोनयन दर्ता गराए । स्थानीय तह प्रमुख उपप्रमुख र प्रदेशसभा सदस्यहरु मतदाता हुने यो मतदानको नजिता मतभारका आधारमा हुन्छ । जसअनुसार प्रदेशसभा सदस्यको ५३ र स्थानीय तह प्रमुख÷उपप्रमुखको १९ मतभार तोकिएको छ ।

१ सय १९ वटा स्थानीय तह रहेको बागमती प्रदेशमा स्थानीयतर्फ ३ वटा महानगरपालिका, १ वटा उपमहानगरपालिका, ४१ वटा नगरपालिका तथा ७४ वटा गाउँपालिका छन् । जसमध्ये दोलखाको १ पद रिक्त भएपछि २ सय ३७ जनाले मतदान गर्ने छन् । जसको मतभार ४ हजार ५ सय ३ हुन आउँछ । प्रदेशसभातर्फ १ सय १० जना सदस्य छन् । जसको मतभार ५ हजार ८ सय ३० मतभार हुन आउँछ । स्थानीय तह र प्रदेशसभा सदस्यको गरी बागमतीमा १० हजार ३ सय ३३ मतभार हुन आउँछ ।

कसको मत कति मतभार ?
बागमतीमा प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ३७ जना सदस्य छन् । जसको मतभार १ हजार ९ सय ६१ हुन आउँछ । स्थानीय तहतर्फ नेपाली कांग्रेसका पालिका प्रमुख रउपप्रमुख गरी १ सय ७ जनप्रतिनिधि मतदाता छन् । जसको मतभार २ हजार ३३ छ । यसरी हेर्दा राष्ट्रियसभामा बागमती प्रदेशको नेपाली कांग्रेस एक्लैको ३ हजार ९ सय ९४ मतभार छ ।सत्तारुढ दल माओवादी केन्द्रबाट बागमती प्रदेशसभामा २१ जना सदस्य छन् । जसको मतभार १ हजार १ सय १३ मतभार हुन्छ ।

स्थानीय तहतर्फत माओवादी केन्द्रको नगरप्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष गरी ५७ जना रहेका छन् । जसको मतभार १ हजार ८३ हुन आउँछ । माओवादी केन्द्रको प्रदेशसभा सदस्य र स्थानीय तहको कुल मतभार २ हजार १ सय ९६ छ । एकीकृत समाजवादीबाट बागमती प्रदेशसभामा ७ जनाको उपस्थिति छ । जसको मतभार ३ सय ७१ हुन आउँछ । यस्तै स्थानीय तहतर्फ नगरप्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षगरी ९ जना निर्वाचित भएका छन् । जसको मतभार १ सय ७१ छ । एकीकृत समाजवादीको कुल मतभार ५ सय ४२ छ ।

एमालेले बागमती प्रदेशमा प्रदेशसभामा २७ सिट जितेको छ । जसको मतभार १ हजार ४ सय ३१ हुन आउँछ । स्थानीय तहतर्फ एमालेले नगरप्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षगरी ६० जना निर्वाचित भएका छन् । जसको मतभार १ हजार १ सय ४० हुन आउँछ । प्रदेशसभा सदस्य र स्थानीय तहका गरी एमालेसँग २ हजार ५ सय ७१ मतभार छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट बागमती प्रदेशसभामा १३ जनाको प्रतिनिधित्व छ । जसको मतभार ६ सय ८९ हुन आउँछ । स्थानीय तहतर्फ राप्रपाको १ जना निर्वाचित भएका छन् । जसको मतभार १९ छ । प्रदेशसभा सदस्य र एक स्थानीय तहका जनप्रतिनिधि गरी राप्रपाको कुल ७ सय ८ मतभार छ ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को बागमती प्रदेशसभामा ३ सिट छ । जसको मतभार १ सय ५९ हुन आउँछ । नेमकिपाको स्थानीय तहतर्फ २ जना जनप्रतिनिधि रहेकाले जसको मतभार ३८ हुन आउँछ । ३ प्रदेशसभा सदस्य र दुई स्थानीय तहका जनप्रिनिधि गरी नेमकिपाको कुल १ सय ९७ मतभार छ ।सत्ता गठबन्धन दलबाट बागमतीमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको उपस्थिति
छ ।

यसरी मिलेर राष्ट्रियसभाको चुनावमा मतदान हुँदा कांग्रेसको ३ हजार ९ सय ९४, माओवादीको २ हजार १ सय ९६ र एकीकृत समाजवादीको ५ सय ४२ गरी ६ हजार ७ सय ३२ मतभार गठबन्धनको पक्षमा आउनेछ । एमाले र राप्रपा मिलेर चुनावमा जाँदा पनि गठबन्धनसामु उसको मतभार निकै कम हुनेछ । एमालेको २ हजार ५ सय ७१ र राप्रपाको ७ सय ८ जोड्ना उनीहरुको पक्षमा ३ हजार २ सय ७९ मतभार हुनेछ । यसरी अंकगणित हेर्दा राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको पल्ला भारी हुने देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*