तीन जनालाई सम्मान गर्दै मुक्तक मञ्च
हेटौंडा-मुक्तक मञ्च मकवानपुरले ३ जना मुक्तककारलाई सम्मान गर्ने भएको छ । मञ्चले मकवानपुरे मुक्तककार बिर्खे अन्जानसहित पोखराका दीपक समीप, हरिकृष्ण काफ्लेलाई सम्मान गर्ने भएको छ ।
इन्दिरादेवी स्मृति मुक्तक सम्मान, २०८० बाट मकवानपुरको थाहा नगरपालिकाका बिर्खे अञ्जान सम्मानित हुने भएका छन् । सम्मानको राशी ५ हजार ५ सय ५५ रुपैयारहेको छ । गतवर्ष यो सम्मानबाट माध्यमिक तहस्तरीय मुक्तक प्रतियोगिता विजेता समर्पण न्यौपाने सम्मानित भएका थिए ।
मुक्तक मञ्च मकवानपुर अध्यक्ष डिबी बर्तौलाद्वारा आफ्ना पिताको स्मृतिमा स्थापित बहादुरानन्द स्मृति मुक्तक सम्मान, २०८० बाट पोखराका मुक्तककार दीपक समिपलाई सम्मानित गरिने भएको छ । यो सम्मानको राशि ७ हजार ७ सय ७७ रुपैयाँ रहेको छ । गतवर्ष यो सम्मानबाट सिन्धुलीका मुक्तककार लोकेन्द्र डहरे सम्मानित भएका थिए ।यसैगरी मुक्तक मञ्च मकवानपुरका उपाध्यक्ष किशन पौडेलद्वारा आफ्ना बाबुको स्मृतिमा स्थापित तारा स्मृति मुक्तक सम्मान, २०८० रौतहटका मुक्तककार हरिकृष्ण काफ्लेलाई सम्मानित गरिनेछ । यो सम्मानको राशि ७ हजार ५ सय रुपैयाँ रहेको छ । गतवर्ष यो सम्मानबाट मकवानपुरका देवराज खरेल सम्मानित भएका थिए । यो सबै सम्मान मुक्तक मञ्च मकवानपुरको अधिवेशनको दिन आगामी माघ २७ गते प्रदान गरिने बर्तौलाले बताए ।