राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपमा मकवानपुरको पाँच सदस्यीय टोली

साझाकुरा
२०८० पुष २४, मंगलवार १०:४६

हेटौंडा- ललितपुरमा पुस २३ गतेबाट सुरु तुल्सीलाल स्मृति राष्ट्रिय क्लव टिम बुद्धिचाल च्याम्पियनसिप–२०८० मा मकवानपुरको पाँच सदस्यीय बुद्धिचालको टोली सहभागी भएको छ ।प्रतियोगितामा भाग लिन जिल्ला बुद्धिचाल संघ अध्यक्ष मनोज श्रेष्ठको व्यवस्थापनमा ५ सदस्यीय टोली तयार भएको हो । मकवानपुरे टोलीले कृष्ण थापाको नेतृत्व (कप्तानी)मा सिंगेस्वर दास, सुदेन ट्वीट्वी, अनुष्न गौतम, जियोन श्रेष्ठ र म्यानेजर सुरेन्द्रबहादुर कर्माचार्य प्रतियोगितामा भाग लिन प्रस्थान गरिसकेको अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेता टोलीले २ लाख, दोस्रो टोलीले १ लाख २० हजार, तेस्रोले ६० हजार र चौथो हुने टोलीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीले समान १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा कुल ४ लाख ७० हजार रुपैयाँ पुरस्कार रहेको प्रदान गरिने नेपाल बुद्धिचाल संघका महासचिव धरम लामाले जानकारी दिए । विगत भन्दा फरक शैलीमा खेलाइने प्रतियोगिताका प्रत्येक टिममा वैकल्पिक सहित ५ जना खेलाडी रहनेछन् । जस अनुसार प्रतियोगिता संरचनामा खेलाडीलाई ए,बी,सी र डी गरिन चार समूह विभाजन गरिएको छ ।

समूह ‘ए’ मा टाइटल प्राप्त खेलाडी, पूर्वनेपाल च्याम्पियन, राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट दश स्थान प्राप्त खेलाडी तथा १९०० रेटिङ माथिका खेलाडी छन् । समूह ‘बी’ मा १९०० रेटिङ मुनिका खेलाडी, समूह ‘सी’ मा यु २० र समूह ‘डी’ मा यु १६ वा महिला खेलाडी रहनेछन् । वैकल्पिक खेलाडीमा जुन समुहको खेलाडी हो त्यही ठाउँमा प्रतिस्पर्धा गर्न पाउने प्रावधान रहेको बताइएको छ । प्रतियोगितामा साविक विजेता थापाथली चेस पार्क क्लब, मकवानपुर जिल्ला बुद्धिचाल संघ, ललितपुर स्पोर्ट्स क्लब, गोल्डेन गेट क्लब लगायत २० टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*