नवोदयको खेलकुद प्रतियोगिताः क्याम्पामा एथ्लेटिक्सका खेल सुरु

साझाकुरा
२०८० पुष २६, बिहीबार १०:३५

हेटौंडा- हेटौंडाको नवोदय शिशुसदन अंग्रेजी माध्यमिक विद्यालयको विविध खेलकुद प्रतियोगिताअन्तर्गत् बुधवारबाट एथ्लेटिक्सका खेल सुरु भएको छ ।पिप्लेक्याम्पा रंगशालामा खेल भएको हो । विद्यालयका खेल शिक्षक तथा प्रतियोगिताका संयोजक तक्षक सिम्खडाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–५ का वडाअध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडाअध्यक्ष घिमिरेले पठनसँगै नवोदय विद्यालयले खेलकुद क्षेत्रलाई जोड्दै आइरहेकोमा बालबालिकाको सर्बा·िण विकासमा जोड दिएका थिए । उनले खेलकुद प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

अन्तर सदनात्मक हाउसमा हुने जुनियर र सिनियरका विद्यार्थीले विभिन्न खेलमा सहभागिता जनाएका छन् । जसमध्ये लुडो, भलिबल, फुटबल, क्रिकेट, चेस, टेबलटिनेसको खेल सम्पन्न भइसकेको खेल शिक्षक सिम्खडाले जानकारी दिए । बुधबार भएको १०० मिटर सिनियर दौड प्रतियोगितामा कञ्चनजंघा सदनका सचिनकुमार यादव प्रथम, सगरमाथा सदनका अभिराज कार्की द्वितीय र अन्नपूर्ण सदनका प्रसिद्ध जर्गा तृतीय हुन सफल भए ।

प्रतियोगितामा विजयी भएका विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले मेडल प्रदान गरेका थिए । कार्यक्रममा स्काउटका विद्यार्थीले मार्चपास पनि गरेका थिए । बुधबार क्याम्पाचौरमा १०० मिटर सिनियर छात्रा, १०० मिटर छात्र र छात्रा दौड, स्पोन रेस, म्याथम्याटिकल रेसलगायतका खेल सञ्चालन हुनेछ । विहीबार जिम्नास्टीक प्रदर्शनी, ड्रिल डिस्प्लेलगायत अन्य विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन हुने विद्यालयले जनाएको छ ।

जिम्नास्टीक प्रदर्शनीमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका विद्यार्थीले जिम्नास्टीक प्रदर्शन गर्ने विद्यालयका इभेन्ट म्यानेजर प्रेम क्षेत्रीले जानकारी दिए । प्रतियोगितामा मकवानपुर एथ्लेटिक्स संघका उपाध्यक्ष बिनोद श्रेष्ठ, सदस्य हरिप्रसाद विडारी, रमणकुमार झाले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*