एष्ट्रोनोभाको विदेश प्रतिनिधिमा आयोला

हेटौंडा- हेटौंडामा रोबटिक्स, आर्टिफिसिएल इन्टेलिजेन्स, फ्यूचर टेक्नोलोजी र एष्ट्रोनोमीलगायत विज्ञान प्रविधि सम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको एष्ट्रोनोभा फाउण्डेशन नेपालको विदेश प्रतिनिधिको रुपमा बाबाटुन्डे आयोला नियुक्त भएका छन् ।बुधबार रिपोटर्स क्लब नेपाल मकवानपुरको संयोजनमा हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष किशन बास्तोलाले नाइजेरियाका नागरिक आयोलालाई नियुक्तिपत्र प्रदान गरेका हुन् । बालमनोविज्ञ समेत रहेका आयोलाले फाउण्डेशनका गतिविधि अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउने एवम् अन्तर्राष्ट्रियस्तरका बैज्ञानिकसँग समन्वय तथा सम्बन्ध विस्तार गरी नेपालीको हितका लागि विभिन्न कार्यक्रम ल्याउन पहल गर्ने बताए ।
सो अवसरमा अध्यक्ष बास्तोलाले फाउण्डेशनलाई अनुसन्धान एवम् आविस्कार केन्द्रको रुपमा विकास गरिने बताए । हाल विज्ञान प्रयोगशाला, कम्प्यूटर प्रयोगशाला स्थापना भइसकेको बताउँदै उनले विज्ञान प्रविधिको क्षेत्रमा बालबालिकालाई अब्बल बनाउने उद्देश्यका साथ हालसम्म प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा करिब १ लाख विद्यार्थीसमक्ष पुगेको दाबी गरे ।फाउण्डेशनले २५ जना विद्यार्थीलाई राष्ट्रिय युवा विज्ञान सम्मेलनमा सहभागी गराएको, ६ जनाले युवा बैज्ञानिक अवार्ड पाइसकेको, ३५ जना विद्यार्थीलाई निरन्तर निःशुल्क रुपमा मेकानिकल, सिभिल, आइटी, सफ्टवेयर, कम्प्यूटर लगायतका इन्जिनियरद्वारा प्रशिक्षण दिने कार्य भइरहेको तथा वेवसाइट तथा डिजिटल प्रोजेक्टको तयारी भइरहेको उनले बताए ।