पालुङ सहकारीद्वारा साढे १२ प्रतिशत लाभांश वितरण

साझाकुरा
२०८० पुष २८, शनिबार ११:४२

हेटौंडा-चरम आर्थिक मन्दीका कारण नेपालका नाम चलेका बित्तीय संस्थाले यो वर्ष आफ्ना सेयरधनीलाई बोसन दिन सकेका छैनन् । तर, मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा मुख्यकार्यालय रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सेयर धनीलाई नगद लाभांश दिने निर्णय गरेको छ ।सहकारीको भर्खरै सकिएको २४ औं साधारणसभाबाट पारित भएअनुसार आर्थिक वर्ष २०७९÷८० को सञ्चित मुनाफा तथा शेयर प्रिमियमबाट सेयर धनीलाई हाल कायम चुक्ता पुँजीको १२ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । ठुला बैंकहरुले लाभांश बितरण गर्न नसकेको अवस्थामा पालुङ बहुउद्देश्यीयले ९ करोड ९४ लाख ५४ हजार ८ सय सेयरको जम्मा लाभांश १ करोड २४ लाख ६१ हजार रुपैयाँ वितरण गर्न लागिएको संस्थाका सहव्यवस्थापक रामप्रसाद ढकालले जानकारी दिए ।

नेप्सेमा सूचिकृत भएका कम्पनीले घोषणा गरेको नगद लाभांशमध्ये सिएसडि एण्ड क्लिएरिङ लिको १०० प्रतिशत, नेपाल दुरसञ्चारको ४० प्रतिशत, सोल्टी होटलको २५ प्रतिशत, नविल बैकको ११ प्रतिशत र महालक्ष्मी विकास बैकको ६.४ प्रतिशत रहेको छ । आर्थिक मन्दीका कारण नेपालका ठूला बैंक तथा बित्तीय संस्थाले यो वर्ष सेयरधनीको हात रित्तो बनाएको अवस्थामा पनि पालुङ बहुउदेशीयले भने नगद लाभांश बितरण गर्ने निर्णय गरेको हो ।

गतवर्ष सहकारीले सेयरधनीलाई मुनाफाबाट १८ प्रतिशत नगद लाभांश बितरण गरेको थियो । आव २०७७÷७८ मा नगद लाभांश १५ प्रतिशत, २०७६÷७७ मा १५ प्रतिशत, २०७५÷७६ मा १५ प्रतिशत नगद लाभांश बितरण गरेको थियो । लाभांशको ईतिहास हेर्दा यो सहकारीको अवस्था राम्रो देखिएको सेयर सदस्यहरुले बताएका छन् । थाहानगरमा आफ्नै भवनबाट सेवाप्रबाह गरिरहेको छ । तत्कालीन बिद्रोही माओवादीको जनयुद्धताका सुरक्षाको कारण देखाउँदै सबै बैंक तथा बित्तीय संस्था हेटौंडा नगरमा केन्द्रिकृत भएको समयमा पनि पालुङ बहुउदेशीय सहकारीले उत्तरी क्षेत्रमा बित्तीय सेवा उपलब्ध गराएको थियो ।

हाल यो सहकारीमा मकवानपुरमा सबैभन्दा बढी सेयर सदस्य रहेको बताइएको छ । यो सहकारीको सदस्य संख्या ६ हजार ३ सय ८८ जना रहेका छन् । महिला समूहको ४ हजार २ सय ६६ रहेका छन् । कुल जम्मा सदस्य १० हजार ६ सय ५४ जना सदस्य रहेका छन् । ग्रामीण क्षेत्रमा बित्तीय साक्षारताका लागि क्रियाशील रहेको यो सहकारीले सरकारी कार्यालयको पनि आर्थिक कारोबार गरेको थियो । महिलाहरुलाई समूहमा आबद्ध गराएर बिनाधितो समूह जमानतमा कर्जा प्रवाह गरी तरकारी खेती तथा पशुपालन कार्यमा महत्वपूण योगदान गरिरहेको स्थानीयले बताएका छन् ।

सहकारीको जगेडा कोष सहित अन्य कोषहरु करिब १६ करोड रुपैयाँ रहेको छ । बचत ६२ करोड रुपैयाँ, ऋण लगानी ९१ करोड रुपैयाँ लगानी रहेको छ । कृषि, ब्यापार, सबारी साधन, उच्चशिक्षा अध्ययन गर्न शैक्षिक कर्जा, पशुपालन कर्जा, लघुकर्जा, घरेलु उद्योगमा लगानी गरिरहेको छ । समूह जमानतमा ऋण लगानी करिब १० करोड रुपैयाँ रहेको छ । थाहा नगरको शीतभण्डारमा यो संस्थाको २ करोड रुपैयाँ भन्दा बढी लगानी रहेको छ ।

सेयर सदस्य कृषकलाई रासायनीक मल, गुणस्तरीय बेर्ना उपलब्ध गराउँदै आएको सहब्यवस्थापक ढकालले बताए । सहकारीले आफ्नै हाइटेक नर्सरीबाट उत्पादन गरिएको बेर्ना बिक्री गरिरहेको छ । सहकारीका सदस्यहरुको सुबिधाका लागि थाहानगरको बज्रबाराही र हेटौंडामा सेवाकेन्द्र संचालन गरेको छ । सहकारीले रेमिट्यान्सको कारोबार पनि गरिरहेको छ । यो सहकारीले पूर्णरुपमा मोवाइल बैकिङ सेवा संचालन गरेको छ । धेरै कारोबार अनलाइन बैंकिङ पद्दतीमा हुने गरेको छ ।

गत आर्थिक वर्ष २०७९÷८० मा मकवानपुर जिल्लाका बैंक तथा बित्तीय संस्थाहरुमध्य सबैभन्दा बढी करतिर्ने संस्थाको रुपमा पालुङ बहुदेशीय सहकारी संस्थालाई आन्तरिक राजश्व कार्यालय हेटौंडाले सम्मानीत गरेको थियो । सहकारीले कालीमाटीमा तरकारी बिक्री स्टल संचालन गरिरहेको छ । सदस्य हितकोष कार्यक्रममार्फत् कुनैपनि बचतकर्ता सदस्यको मृत्यु भएको खण्डमा जनही ३० हजार रुपैयाँ घरमै पु¥याउने गरिएको छ । ७५ वर्ष पूरा भएका सबै सदस्य सम्मान गरिरहेको छ । सहकरीका सदस्यका परिबारमा बिशिष्ठ स्थानमा पुग्ने ब्यक्तिलाई बिशिष्ठ उपाधि सम्मान कार्यक्रम पनि गरिएको सहब्यवस्थापक ठकालले बताए । कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको छ । चालु आर्थिक वर्ष भरि यो सहकारीले रजतवर्ष मनाउने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*