मकवानपुर साकोसको मुनाफा साढे ८ लाख

साझाकुरा
२०८० पुष २९, आईतवार १०:५९

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–४, स्थित मकवानपुर बचत तथा ऋण सहकारी संस्थाले ८ लाख ५४ हजार नाफा आर्जन गरेको छ ।सहकारीले गत आर्थिक वर्ष २०७९÷८० मा ८ लाख ५४ हजार तीन सय ३६ रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो । शनिबार भएको सहकारीको २४ औं साधारणसभाको अवसरमा संस्थाको नाफा आव ०७८÷७९ को तुलनामा कम रहेको सहकारीले जनाएको छ । सहकारीले आव ०७८÷७९ मा ५१ लाख १२ हजार नाफा आर्जन गर्न सफल भएको थियो । सहकारीले गत आव सम्ममा ९ सय ७५ जना पुरुष र एक हजार चार सय ९६ महिला गरी जम्मा दुई हजार चारसय ७१ शेयर सदस्यबाट दुई करोड २५ लाख ९ सय शेयर पुँजी संकलन गरेको लेखा समितिले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीले गत आवमा १७ करोड ९३ लाख निक्षेप संकल गरेको छ । १६ करोड ५४ लख ऋण लगानी गरेको लेखा सुपरीवेक्षण समितिका संयोजक बिमल बाँस्कोटाले जानकारी दिए । सहकारीले साधारणसभाको अवसरमा ज्येष्ठ सदस्य तारादेवी वैद्य र बलराम गोतामे, असल निक्षेप सदस्यमा पूर्णकेसरी श्रेष्ठ र सत्यनारायण सिलवाल, असल ऋणीमा राधा मानन्धर र ज्ञानबहादुर श्रेष्ठलाई सम्मान गरेको छ । एसईई परीक्षामा उत्कृष्ट हुने नीरिसा त्रिपाठी र आनन्दकुमार शाहलाई सम्मान गरेको छ । संस्थाले मानवसेवा आश्रम, मामाघर नेपाल, अनाथ आपा· बाल पुनःस्पापना केन्द्र, ओम वृद्धाश्रम, श्रीमद् भागवत ज्ञानसञ्चार वृद्धाश्रम, हाम्रोघर आश्रम हेटौंडा, संस्कृत वेद विद्यालय र आनन्दमार्ग बाल आश्रमलाई एक–एक बोरा चामल, ५ केजी दाल र १ बक्स साबुन सहयोग गरेको छ ।

सहकारीका अध्यक्ष विजयसागर श्रेष्ठको सभाध्यक्षतामा भएको साधारणसभामा बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहको थियो । कार्यक्रममा हेटौंडा–४ का वडाध्यक्ष नविन सिग्देल, सहकारीका संस्थापक अध्यक्ष मधुसुदन कंसाकार, राष्ट्रिय सहकारी बैंक प्रमुख रामेश्वर अर्याल, मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवाल, संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, सहकारीका सल्लाहकार अशोक शाक्य, जिल्ला बचत तथा ऋण सहकारी संघकी कोषाध्यक्ष विष्णुमाया लामालगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*