हेटौंडा सिमेन्टको उत्पादन लगातार बन्द

साझाकुरा
२०८० माघ ३, बुधबार ११:४४

 हेटौंडा- वर्षौँदेखि निरन्तर घाटा व्यहोर्दै आएको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन ३ महिनादेखि बन्द रहेको छ ।आर्थिक संकटका कारण अझै सिमेन्ट उत्पादनमा कठिनाई भइरहेको उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डेले जानकारी दिए । उद्योग व्यवस्थापनले आर्थिक स्रोत जुटाउने प्रयास गरेको भएपनि तत्काल सम्भव नहुँदा कोइलाखरिद गरी ल्याउन कठिनाई भएको र सोही कारणबाट उत्पादन बन्द भएको उनले बताए ।उद्योगलाई हाल नियमित उत्पादन सुरु गर्न करिब ३ हजार मेट्रिकटन कोइला आवश्यक पर्ने र त्यति कोइलाले १ महिनासम्म सिमेन्ट उत्पादन गर्न सकिने उद्योगका नायवमहाप्रबन्धक नविनकुमार कर्णले जानकारी दिए । अहिले यो उद्योगको भण्डारणमा करिब ६०० मेट्रिकटन मात्रै कोइला रहेकाले उत्पादन सुरु नगरिएको जनाइएको छ ।

त्यस्तै उद्योगबाट उत्पादित २ लाख २५ हजार बोरा सिमेन्ट विक्री हुन नसक्दा उद्योगलाई थप आर्थिक संकट आइपरेको नायवमहाप्रबन्धक कर्णले बताए । सरकारले केही अनुदान उपलब्ध गराएमा यथाशीघ्र कोइला आपूर्ति गरी माघको अन्तिम साताबाट उत्पादन सुरु गरिने उद्योग व्यवस्थापनले जनाएको छ । विक्रम सम्वत २०३३ सालमा १ अर्ब ३८ करोड ९० लाख रुपैयाँमा लगानीमा स्थापना भएको हेटौंडा सिमेन्ट उद्योगले २०४३ साल मंसिर २६ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो ।

कुनैसमय हेटौंडा सिमेन्टका उपभोक्ताले डिलरमा पैसा बुझाएर महिनौं कुरेर सिमेन्ट लिने गरेका थिए । हेटौंडा सिमेन्ट उद्योगको डिलरसिप लिनका लागि मन्त्रालयसम्म भनसुन गर्नु पर्दथ्यो । हाल उद्योगको उत्पादन र बजार समायानुकुल विस्तार नभएकै कारण उद्योग संकटमा पुगेको छ । जसले गर्दा हेटौंडा सिमेन्टको बजार खुम्चियो, निजी लगानीका सिमेन्ट उद्योगले बजार फैलाउँदै गए ।हेटौंडा सिमेन्ट उद्योगको पुरानो भवन, पुरानै प्रविधि र पुरानै ग्राहकका बीचमा यसले आफ्नो अस्तित्व जोगाउन संघर्ष गर्दैछ । हेटौंडा सिमेन्टप्रति उपभोक्ताको विश्वास अझै गुमेको छैन । उद्योगको दैनिक उत्पादन क्षमता ७ सय ५० मेट्रिकटन थियो । वर्षमा २७ लाख बोरा उत्पादन गर्ने क्षमता भएपनि पछिल्ला वर्षमा मुस्किलले १८÷२० लाख बोरा उत्पादन गरिरहेको छ ।

उद्योगले पूर्ण क्षमता उपयोग गर्न सकेको छैन । ऊर्जा संकटबाट बाहिर निस्कँदा केही सास फेर्न पाएको उद्योग यही अवस्थामा रहिरहन चाहँदैन । हेटौंडा सिमेन्ट उद्योगभन्दा पछि आएका उद्योगले बजारीकरण रणनीति प्रयोग गरेर ठूलो क्षमतामा बजार विस्तार गरिरहँदा हेटौंडा सिमेन्टको अवस्था थप जर्जर बन्दैछ । यो उद्योगले उत्पादन क्षमता विस्तार नगरे संकटमा फस्ने अवस्था पुगिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*