पूजाआजा र भेटघाटका लागि हेटौंडामा आउँदै पूर्वराजा ज्ञानेन्द्र

साझाकुरा
२०८० माघ ४, बिहीबार १३:३१

हेटौंडा-माघ ७ मा पूर्वराजा ज्ञानेन्द्र शाह हेटौंडा आउँदैछन् । बेलाबखत हेटौंडा आइरहने ज्ञानेन्द्रको आगामी भ्रमणलाई भने राप्रपा मकवानपुरले विशेष बनाउने भएको छ ।धार्मिकक्षेत्रहरुको अवलोकन तथा पूजाआरधानाका लागि हेटौंडा आउन लागेका पूर्वराजा शाहसँग भेटघाट कार्यक्रमको तय र व्यवस्थापन राप्रपाले गरेको छ । राप्रपाले पत्रकार सम्मेलन गर्दै ज्ञानेन्द्र आउने कार्यतालिकाबारे जानकारी गराएको छ ।

पूर्वराजा ज्ञानेन्द्रलाई ७ गते दिउँसो १२ बजे हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गरिने आयोजक मूल समारोह समितिका संयोजक तथा प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले जानकारीदिए ।सोही दिन दिउँसो साढे १२ बजे हेटौंडा–१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बामा पूजाआराधना, साढे २ बजे हेटौंडा–१० स्थित भूटनदेवी मन्दिरमा पूजाआराधनासहित शुभेच्छुक भेटघाट र साढे ४ बजे हेटौंडा रिसोर्टमा खेलप्रमी, बुद्धिजीवी, व्यवसायीलगायतसँग भेटघाट गरी फर्किने कार्यतालिका रहेको सिंहले बताए । कार्यक्रममा पार्टीको नभई नेपालको राष्ट्रिय झण्डा बोकिने उनले बताए । ‘हामीले पूर्वराजा ज्ञानेन्द्रलाई अभिभावक मानेका छौं । देशैभर जनतासँग उहाँको प्रत्यक्ष भेटघाट कार्यक्रम भइरहेको बेला मकवानपुरमा पनि उत्साहजनक रुपमा कार्यक्रम सम्पन्न हुनेमा हामी विश्वस्त छौं ।’, सिहंले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका प्रवक्ता आयुष डोटेलका अनुसार ७ गते हुने कार्यक्रमको लागि १ हजार १ सय ११ जनाको मूल समारोह समिति तथा १० वटा उपसमितिहरु गठन गरिएको छ । समितिलाई विभिन्न जिम्मेवारी दिइएको छ । रिपोर्टर्स क्लब मकवानपुरको आयोजनामा भएको पत्रकार सम्मेलनमा राप्रपा केन्द्रीय सदस्य रामहरि न्यौपाने, सचिव गुञ्जबहादुर न्यौपाने, बागमती प्रदेश सदस्य ध्रुवप्रसाद सञ्जेल, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय सचिव सरस्वती थिङ्लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*