गौरीटारमा १० वर्षपछि राष्ट्रिय फुटबल प्रतियोगिता

साझाकुरा
२०८० माघ ९, मंगलवार १०:३१

 हेटौंडा- बागमती प्रदेशको राजधानी हेटौंडा–६ स्थित गौरीटार रंगशालामा १० वर्षपछि राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । यही माघ १६ गतेबाट गौरीटार रंगशालामा स्थानीय तह छैठौं सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता हुने भएको हो ।२८ जेठ २०६६ मा पूर्वप्रधानमन्त्री माधव नेपालले शिलान्यास गरेको गौरीटार रंगशालामा २०७० सालमा एनसेल महिला राष्ट्रिय फुटबल प्रतियोगिता भएको थियो । रंगशालाको निर्माण सम्पन्न नभइकन भएको महिला राष्ट्रिय फुटबल प्रतियोगिको फाईनलमा नेपाल प्रहरी र शसस्त्र प्रहरीबीच उपाधिका लागि भिडन्त भएको थियो । प्रतियोगिताको उपाधि नेपाल प्रहरीले हात पारेको थियो । २०७० सालमा भएको प्रतियोगितादेखि १० वर्षसम्म गौरीटारमा कुनै पनि खेलकुद गतिविधि हुन सकेको थिएन ।

२०७४ मा आएर प्रदेश सरकार स्थापनापछि प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले गौरीटार रंगशालाको काम अगाडि बढाएका थिए । प्रदेश सरकारले क्रमागत योजनाअन्तर्गत् निर्माणकार्य अगाडि बढाउँदा पनि केन्द्रीय खेलकुद प्रतिष्ठान (गौरीटार रंगशाला) अझै अपूर्ण छ । हेटौंडामा प्रथम अन्तरनगर खेलकुद प्रतियोगिता–२०३९ हुने समयमा गौरीटारमा अत्याधुनिक सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने घोषणा गरिएको थियो । चारदशक अघि गौरीटार रंगशालामा खेलकुदको अभ्यास गर्ने सपना देखेका कतिपय खेलाडीले यो संसारबाट बिदा लिइसकेका छन् भने कतिपय खेलाडीले खेलजीवनबाट सन्यास लिइसकेका छन् ।

१४ वर्षसम्म पनि अधुरै रहेको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण रंगशालामा अब भने खेलकुद प्रतियोगिता हुने भएको छ । ५ वर्षमा सम्पन्न गर्ने भनेर शिलान्यास भएको रंगशाला १४ वर्षसम्म पनि सम्पन्न भएको छैन । तर, स्थानीय तह छैठौं सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता गर्न लागि आयोजकले तीब्र रुपमा काम गरिरहेका छन् । गौरीटार रंगशाला चौर ब्यवस्थापन समितिका संम्योजक आधुनिक तिमल्सिनाका अनुसार हालसम्म चौरमा ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । प्रतियोगिता हुने मितिसम्म चौरको काम सम्पन्न नभएपनि दर्शकलाई हेर्न मिल्ने गरी काम गरिरहेको उनले जानकारी दिए ।

फुटबल प्रतियोगिता यसअघि हेटौंडा–४ स्थित फरेष्ट्रि क्याम्पसको चौरमा हुने गरेको थियो भने पछिल्लो समय हेटौंडा–स्थित पिप्ले क्याम्पा रंगशालामा हुँदै आएको थियो । सुविधा सम्पन्न र अन्तर्राष्ट्रियस्तरकै रंगशाला गौरीटारको प्रचारप्रसार गर्न आयोजकलेगौरीटार रंगशालामा आयोजना गरेको जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष एवम् एन्फा केन्द्रीय सदस्य टीकारामा लामाले जानकारी दिए । उनका अनुसार पिप्लेक्याम्पा रंगशालामा ३२ सयजना दर्शक अटाउने क्षमता भएको प्याराफिट रहेकोमा गौरीटारमा करिब ५ हजार दर्शक अटाउने क्षमता भएको जानकारी दिए । उनका अनुसार रंगशालामा खेल हेर्न आएका खेलप्रेमीलाई सहज हुने र आँखामा घाम नपर्ने गरी अन्तर्राष्ट्रियस्तरकै मापदण्ड अनुसार निर्माण भएका हुँदा प्रतियोगिताको आयोजना त्यहाँ गर्न लागिएको बताए ।‘यो एउटा ईतिहास बोकेको रंगशाला हो ।

यो रंगशालामा एनसेल महिला फुटबल कपबाट कुनै खेल प्रतियोगिता भएन त्यहाँ,’ उनले भने, ‘अब नेपाली फुटबल हब भनेको मकवानपुर हुन्छ । मकवानपुर भनेको गौरीटार रंगशाला हो । फाष्टट्रयाक बन्ने बित्तिकै एक घण्टामा काठमाडौंबाट यहाँ आईपुग्छ ।’ नेपली फुटबललाई हब बनाउन र खेलमैदान प्रचारप्रसार गर्नका निम्ति प्रतियोगिता आयोजना गरिएको अध्यक्ष लामाले बताए । गौरीटार रंगशालामा साग प्रतियोगिता गर्ने तयारी पनि भएको जानकारी उनले दिए । खेलप्रेमीलाई टाढा पर्ने अवस्था सिर्जना भए रंगशालासम्म पुग्न यातायाता ब्यवस्था गर्ने तयारी रहेको उनले बताए ।

१२ टिमको सहभागी

आगामी माघ १६ गतेबाट माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक, आठवटा ए डिभिजन क्लब, एउटा विदेशी, दुईवटा मोफसलका क्लब गरी १२ टिमको सहभागी हुने हेटौंडामा पत्रकार भेटघाट गरी जानकारी दिइएको छ ।जिल्ला फुटबल संघ मकवानपुरका अनुसार प्रतियोगितामा ए डिभिजनका चर्च व्वाइज, संकटा, हिमालयन शेर्पा, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मच्छिन्द्र, मनाङ मस्र्याङदी र थ्रीस्टार क्लब सहभागी हुनेछन् । यसैगरी प्रतियोगितामा भुटानको पारो एफसी, सर्लाहीको बागमती युथ क्लब र धनकुटाको राजारानी क्लब सहभागी हुनेछन् । आयोजकको तर्फबाटरिगल हेटौंडा रिसोर्टको नाममा सहभागी हुने भएको हो ।

हेटौंडा–६ स्थित गौरिटार रंगशालामा हुने प्रतियोगिताको विजेताले नगद १५ लाख, उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई यसवर्ष पनि करिब ५ लाख रुपैयाँ बराबरको बुलेट मोटरसाइकल प्रदान गरिने भएको छ । मोटरसाइकलको प्रायोजन पर्शराम स्मृति प्रतिष्ठानले गरेको संघ अध्यक्ष लामाले जानकारी दिए । प्रतियोगितामा विधागतरुपमा उत्कृष्टगोलरक्षक,डिफेन्डर,मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको छैटौं संस्करण आयोजनाका जिम्मेवारी हेटौंडा–१५ को न्यूडाँफे युथ क्लबलाई प्रदान गरिएको छ । डाँफेले प्रतियोगिताका लागि मैदानको स्तरोन्नति, टिकट तथा अन्यआन्तरिक व्यवस्थापन गर्नेछ । प्रतियोगिताको जिम्मेवारी प्राप्त भएकोले मैदानको स्तरोन्नति लगायतको कार्य तीब्ररुपमा अगाडि बढिरहेको डाँफे क्लबका अध्यक्ष आलोक स्याङ्तानले बताए । २०७७ सालमा भएको तेस्रो संस्करणबाट स्थानीय तह शहिद स्मृति मकवानपुर गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको नाममा प्रतियोगिता सञ्चालन भएको हो ।

यस अघि विभिन्न प्रायोजकको नाम राखेर सञ्चालन हुँदै आएको प्रतियोगिताका लागि २०७७ सालबाट जिल्लाका १० वटा स्थानीय तहबाट सहयोग प्राप्त भएपछि मकवानपुर फुटबल संघले ‘स्थानीय तह शहीद स्मृति गोल्डकप’ नामाकरण गरी प्रतियोगिता सञ्चालन गर्दै आएको हो । जिल्लाको १० वटै स्थानीय तहको आर्थिक सहयोगमा फुटबल संघले शहीद स्मृति गोल्डकप आयोजना गर्दै आएको छ । २०६२÷६३ को जनआन्दोलनका शहीदहरुको स्मृतिमा २०६४ सालमा हेटौंडामा पहिलोपटक राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना फुटबल संघले गरेको थियो ।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले हात पारेको थियो । २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । २०७७ मा भएको तेस्रो संस्करण र गत जेठमा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।

प्रतियोगिताको पाँचौं संस्करणको उपाधी सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको थियो । फाइनलमा हिमालयन शेर्पालाई पराजित गर्दै एपीएफले उपाधि जितेको हो । प्रतियोगिताको पाचौं संस्करण हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा आयोजना गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*