मकवानपुरका दुई राप्रपा चुनावपछि पहिलोपटक एक ठाउँमा

साझाकुरा
२०८० माघ १०, बुधबार १०:५७

हेटौंडा-४ मंसिर २०७९ को प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनपछि मकवानपुरमा दुई राजावादी दल राप्रपा र राप्रपा नेपाल एक ठाउँमा देखिएको छ ।मकवानपुरका लागि राप्रपा नेपाल र राप्रपाका दुई ठूला अनुहार कमल थापा र दीपकबहादुर सिंहको चुनावी प्रतिस्पर्धादेखि चिसिएको सम्बन्धले दुई पार्टीलाई एक ठाउँमा ल्याउन सकेको थिएन । पूर्वराजा ज्ञानेन्द्र शाहको एकदिने हेटौंडा भ्रमणले राप्रपा र राप्रपा नेपाललाई एउटै मञ्चमा ल्याइदिएको हो । ज्ञानेन्द्रको स्वागत मूल समारोह समितिमै राप्रपाले राप्रपा नेपाललाई समेटेको हो ।

ज्ञानेन्द्रको भ्रमणमा राप्रपा र राप्रपा नेपालका नेता, कार्यकर्ता संयुक्तरुपमा खटिएको नेता सिंहले बताए । सुरुवातमा राप्रपाले आफू निकटकालाई मात्रै स्वागत समितिमा राखेको र ज्ञानेन्द्र आउने निश्चित भएपछि राप्रपा नेपालकै आग्रहमा संयुक्त समिति बनाइएको राप्रपा मकवानपुरका सहकोषाध्यक्ष सन्दिप सापकोटाले जानकारी दिए । ज्ञानेन्द्र शाहको भ्रमणका लागि राप्रपा नेपालका अध्यक्ष कमल थापाले जिल्लाका नेता, कार्यकर्तालाई स्वागतमा सहभागी हुन आह्वान गरेका थिए ।

हेटौंडाका धार्मिकस्थलको भ्रमण र राप्रपा सम्बद्ध व्यक्तिहरुसँगको भेटघाट सकेर शाह आइतबार साँझ सिमरा फर्किएका थिए । शाह फर्किएपछि स्वागत समितिको पत्रकार सम्मेलनमा पनि राप्रपा र राप्रपा नेपालका नेताहरु एउटै मञ्चमा देखिएका थिए ।राप्रपाबाट सिंह, पार्टी बागमती प्रदेश संसदीय दलका नेता तथा पूर्वमन्त्री उद्धव थापा, प्रदेश सांसदहरु कुमारी मोक्तान र मोनिका श्रेष्ठ, राप्रपा नेपालबाट जिल्ला अध्यक्ष गुरु सापकोटा र कमल थापाका भतिजासमेत रहेका नेता अभिषेक थापा थिए । पत्रकार सम्मेलनमै राप्रपा नेता तथा सांसद सिंहले दुई पार्टीबीचको समन्वय रहेको र राजसंस्था पुनःस्थापनामा कार्यगत एकता हुनसक्ने समेत बताए ।

राप्रपा नेपाल अध्यक्ष सापकोटाले राप्रपासँग चुनावपछि पहिलोपटक एउटै ठाउँमा देखिएको बताए । ‘हामी चुनावपछि पहिलोपटक एउटै कार्यक्रममा सहभागी भएका हौं । राप्रपासँग पनि सम्बन्ध राम्रै छ ।’, उनले भने । उनले राप्रपा र राप्रपा नेपालबीच कार्यगत एकता तत्काल सम्भव नभए पनि राजसंस्था पुनःस्थापनाको आन्दोलनमा एउटै मोर्चा बनाएर जाने विषयमा सहमति भएको बताए ।

कमल थापा र दीपक
सिंहको सम्बन्ध उस्तै

चुनावपछि मकवानपुरमा दुई राप्रपा एकै ठाउँमा देखिए पनि कमल थापा र दीपक सिंहको सम्बन्धमा भने सुधार आएको छैन ।थापा र सिंहबीच फोन संवाद नभएको एकवर्ष कटेको छ । भेटघाटको क्रममा उनीहरुबीच हार्दिकता साटासाट मात्रै हुने गरेको पाइएको छ । निर्वाचनपछि थापा र सिंहको फोन संवाद हुन नसकेको राप्रपा मकवानपुरका सहकोषाध्यक्ष सापकोटाले बताए । ‘उहाँहरुको फोन संवाद नभएको मैले बुझेको छु । तर, कहिलेकाहीँ भेटेको बेला सामान्य हाइहलो चाहिँ गर्नुहुन्छ ।’, सापकोटाले भने ।

मकवानपुरमा कमल थापा र दीपक सिंहलाई ४ मंसिर २०७९ को निर्वाचन अघिसम्म एउटै रथका दुई पाङ्ग्राको रुपमा चर्चा गरिन्थ्यो । त्यो चर्चा राप्रपाभित्र मात्रै सीमित थिएन । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलभित्र पनि उनीहरुलाई हेर्ने नजर ‘भाइ–भाइ’को रुपमा थियो । विगतका निर्वाचनमा यी दुई भाइको सक्रियतालाई लिएर गणतन्त्रवादी दलभित्र पनि छटपटाहट हुन्थ्यो ।तर, मंसिर २०७९ को निर्वाचन गणतन्त्रवादी दललाई मात्र हैन, यी दुई भाइ आफैंलाई टाउको दुखाई बन्न पुगेका थिए । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पुरानै राप्रपा नेपाल ब्युँताएर थापा एमालेको समर्थनमा मकवानपुर–१ बाट निर्वाचन लड्न गृहजिल्ला आए ।

कहिल्यै थापाको साथ नछोडेका सिंह भने पार्टी विभाजनको संघारमा पनि चुपचाप थिए । हत्तपत्त सार्वजनिक कार्यक्रममा ननिस्कने सिंह चुनावको मुखमा खोजी तीव्र
गरिए पनि सार्वजनिक नै भएका थिएनन् । मकवानपुरमा सिंह कसको पक्षमा खुल्छन् भन्ने कौतुहलता व्यापक भइरहँदा उनी एकैपटक निर्वाचन अधिकृतको कार्यालयमा राप्रपाको टिकट बोकेर उम्मेदवारी दर्ता गर्न आइपुगे । थापाले सिंहलाई रोक्न नखोजेका पनि हैनन् । सिंहले आफ्नो फोन नउठाएको उनै थापाले साझाकुरासँग बताएका थिए । ‘दीपक सिंहसँग तपाईको कुरा भएको छ ? भन्ने प्रश्नमा उनले साझाकुरालाई भनेका थिए, ‘फोन गरिरहेको छु । उसले उठाएको छैन ।’ निर्वाचनमा थापा र सिंह होमिए । नतिजा सिंहको पोल्टामा प¥यो ।

मकवानपुरबाटै पाचौं पटकको प्रयासमा पहिलोपटक निर्वाचन जितेका सिंहले नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनालाई देस्रो र थापालाई तेस्रो बनाएका थिए । जिल्लामा राप्रपालाई २८ वर्ष अर्थात् २०५१ सालपछि जित दिलाउने दीपकबहादुर सिंह बने । उनले दुई संसदीय निर्वाचन र दुई मेयर निर्वाचन लडेर पराजित भएपछि पाचौँपटकको प्रयासमा जित निकालेका थिए ।थापासँगको सम्बन्ध चिसिएपछि सिंहलाई जिताउन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बकैया र हेटौंडाको चुनावी सभामा गरेर जिल्लामा दुईपटक आएका थिए । चुनाव जितेपछि सिंह लिङ्देनको विश्वास पात्रको रुपमा देखिए । आफू उर्जामन्त्री हुँदा सिंहलाई उर्जाराज्यमन्त्री बनाए । प्रतिनिधिसभाको पूर्वाधार विकास समिति सभापतिमा पार्टीबाट उनै सिंहलाई पठाए ।

थापा र लिङ्देनको समेत १ वर्ष बढी समयदेखि फोन संवाद हुन नसकेको बुझिएको छ । चुनावी नतिजापछि थापा र सिंहको सम्बन्धमा सुधार नआएको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरु सापकोटाले पुष्टि गरे । ‘चुनावपछि उहाँहरुको सम्बन्ध बाक्लो भएन ।’, सापकोटाले भने । सामान्य बोलचाल भए पनि विगतको जस्तो सहयात्रीको सम्बन्धमा सुधार नआएको उनको भनाई छ । थापा र सिंह विद्यालय तहदेखिकै सहपाठी पनि हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*