बृहत शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम हुने

साझाकुरा
२०८० माघ १०, बुधबार ११:००

हेटौंडा- सामुदायिक तथा संस्थागत विद्यालय बीच प्रतिस्पर्धा, शैक्षिक अध्ययन तथा गुणस्तर सुधार एवम् विद्यार्थीको सिर्जनशील प्रतिभाको उजागर गर्ने उद्देश्यले माघ १२ गते हेटौंडामा बृहत शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । हेटौंडा उपमहानगरपालिका– ४ को आयोजनामा वडाका संस्थागत तथा सामुदायिक गरी ८ वटा विद्यालयको सहभागितामा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

मंगलबार पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराएको हो । कार्यक्रममा प्रत्येक विद्यालयबाट बढीमा १० जनाको समूहले तयार पारेको विज्ञान, गणित र सामाजिक विषयसँग सम्बन्धित सामग्रीको प्रदर्शनी राखिने, मौलिक नेपाली गीत तथा विभिन्न जातजाति नाच र भेषभूषा झल्काउने गरी प्रतियोगितात्मक सामूहिक नृत्य र एकलगायन प्रस्तुति रहने र वडाभरका सबै विद्यालयका कक्षा ६ देखि माथिका विद्यार्थी तथा अभिभावकलाई विद्यालयले गरेका प्रदर्शनी देखाउने जस्ता कार्यक्रम समावेश गरिने शैक्षिक गुण्स्तर सुधार समिति हेटौंडा–४ का अध्यक्ष श्रीराम दाहालले बताए ।

शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रमको उद्देश्य प्रस्ट्याउदै हेटौंडा–४ का अध्यक्ष नवीन सिग्देलले आफूहरु शैक्षिक गुणस्तर सुधार अभियानमा लागिपरेको दावी गरेका छन् । संस्थागत र सामुदायिक विद्यालयबीच समन्वय र प्रतिस्पर्धा दुवै हुनुपर्नेमा उनले जोड दिए । ५ लाख रुपैयाँ खर्च हुने जनाइएको शैक्षिक प्रदर्शनीलाई करिब १० हजार जना विद्यार्थी, शिक्षक तथा अभिभावकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र रहेको वडा नं. ४ मा मात्रै ३ वटा सामुदायिक र ५ वटा संस्थागत विद्यालय रहेको छ जसमा झण्डै १६ हजार विद्यार्थी छन् । पत्रकार सम्मेलनमा हेटौंडा–४ का वडाअध्यक्ष सिग्देल, शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष दाहाल, राष्ट्रिय परीक्षा बोर्डका प्रमुख कृष्णप्रसाद घिमिरे, हेटौंडा–४ का वडासदस्य जनरल श्रेष्ठ, वडासचीव पुष्पराज पौडेल, प्याब्सन मकवानपुरका अध्यक्ष एवम् बालजागृति बोर्डिङ स्कुलका प्रिन्सिपल विनोद सुवेदी, श्रमिक मावि व्यवस्थापन समिति अध्यक्ष विवेक कार्की, भुटनदेवी माविका प्रधानाध्यापक माधव दाहाल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*