स्मारकमा सात पाइलासहितको बुद्धपार्क, पौडेलद्वारा अनावरण

साझाकुरा
२०८० माघ ११, बिहीबार १०:०७

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–११, शहिदस्मारकमा अब बुद्धपार्कको पनि अवलोकन गर्न पाइने भएको छ । स्मारकमा बुधबार बुद्धपार्कको अनावरण गरिएको छ । पार्कमा रहेको बुद्धका प्रतिमा शहिद स्मारक विकास समितिका अध्यक्ष तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले अनावरण गरेका छन् । शहिद सप्ताहको पहिलो दिन बुधबार शहिद स्मारक परिसरमा बुद्ध जन्मेको सात पाइलासहितको बुद्धपार्क अनावरण गरिएको हो । पार्कमा मायादेवी, ब्रम्ह, ईन्द्र र जन्मने बितिक्कै सात पाइला अघि बढेको बुद्धको प्रतिमा बनाइएको हो ।

स्मारकको मुख्य प्रवेशद्धारबाट प्रवेश गर्ने बितिक्कै दाहिनेतर्फ रहेको पार्क निर्माण गर्न करिब १५ लाख रुपैयाँ खर्च भएको स्मारक विकास समितिका सचिव रघुनाथ खुलालले जानकारी दिए । समितिले शहिद सप्ताहको अवसरमा हेटौंडा उपमहानगरपालिका–११ वडा कार्यालयको सहयोगमा स्मारकको पार्कस्थलमा महोत्सव पनि आयोजना गरेको छ । माघ १६ गते शहिद दिवसको दिन बागमती प्रदेश सरकार र स्मारक विकास समितिले संयुक्त रुपमा स्मारकमा शहिद दिवसको कार्यक्रम समेत आयोजना गरेका छन् ।

२०५१ सालमा स्थापना गरिएको शहिदस्मारकमा गत आवमा आन्तरिक एवम् बाह्यगरी ५ लाख भन्दाबढी पर्यटकले अवलोकन गरे । चालु आवको ६ महिनामा करिब ३ लाखले अवलोकन गरिसकेको स्मारक विकास समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले बताए । नेपालको राष्ट्रियता, प्रजातान्त्र र जनजीविकाका लागि इतिहासका विविध कालखण्डमा आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरुको प्रतीकस्वरुप १२ जना सहिदका आकृति एउटै ढुंगामा कुँदेर स्थापना गरिएको शहिदस्मारक एक अद्वितीय धरोहरको रुपमा परिणत भएको छ ।

२५ टनको एउटै ठुलो ढुंगामा राष्ट्रको स्वाधीनताका निम्ति ब्रिटिस सेनाविरुद्ध लडेर बीरगति प्राप्त गर्ने भक्ति थापा, १०४ वर्षींय जहाँनीय राणाशासनका विरुद्ध प्रजातन्त्र प्राप्तिको लडाइमा अमरत्व प्राप्त गर्ने बीर सपुतहरु दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्री, २०१७ सालमा पञ्चायती निरंकुशताको विरुद्ध छेडिएका विभिन्न जनसंघर्षका क्रममा बीरगति प्राप्त गर्ने रत्नकुमार बान्तवा, भीमदत्त पन्त, क्याप्टेन यज्ञवहादुर थापा, दुर्गानन्द झा, बीरेन्द राजवंशी, मुनेश्वरी यादव र हेटौंडाका प्रभारक पौडेलको आकृति कुँदिएका छन् ।

स्मारकको २०५१ साल माघ १७ गते तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले अनावरण गरेका थिए । सहिदस्मारकमा २०४६ सालसम्मका विभिन्न कालखण्डका एकदर्जन सहिदको आकृति कुँदिएका भएपनि त्यसपछिका जनयुद्ध र जनआन्दोलनका शहिदको स्मृतिमा शहिदस्मारक हेटौंडाले ६५ फिट अग्लो शहिदस्तम्भ निर्माण गरेको छ । स्तम्भ २०४६ सालदेखि ०६२÷६३ सालसम्मको जनआन्दोलमा अमरत्व प्राप्त गरेकाहरुको स्मृतिमा निर्माण गरिएको शहिदस्मारकका अध्यक्ष पौडेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*