चित्लाङ–चन्द्रागिरी सडकमा थपियो ८ करोड रुपैयाँ

साझाकुरा
२०८० माघ १३, शनिबार ११:५२

हेटौंडा- ‘हेटौंडा–काठमाडौ जोड्ने चन्द्रागिरी– थानकोट सडकमा करिब ८ करोड रुपैयाँ थप निकाशा हुने भएको छ । मकवानपुरका सांसद महेशकुमार बर्तौलाका अनुसार यो सडक खण्डको स्तरीकरणका लागि तत्काल थप ७ करोड ९९ लाख रुपैयाँ थपिएको हो । काठमाडौं–चन्द्रागिरी–चित्लाङ जोड्ने २२ किलोमिटर मोटरबाटो डरलाग्दो र धराप बनेपछि सर्बत्र चासोको बिषय बनेको थियो । यो सडक खण्डको अप्ठेरो भाग थानकोटदेखि चन्द्रागिरी डाँडासम्म छ । सडकका कारण सवारीसाधन टुटफुट हुनु, सामान्य दुर्घटना हुनु, धुलैधुलो हुनु आमयात्रुको दिनचर्या बनेको छ । सडक पहिले भन्दा केही फराकिलो भयो तर, कच्ची अवस्थाका कारण हिउँदमा धुलैधुलो र वर्षामा हिलाम्य हुनाले गाडी चलाउन कठिन बनिरहेको थियो ।

चितलाङ–चन्द्रागिरी–थानकोट सडक खण्डको स्तरीकरण गर्न चालु आर्थिक वर्षका लागि २० करोड रुपैयाँ माग गरिएको तर अर्थमन्त्रालयले २ करोड रुपैयाँ बिनियोजन गरेको सांसद बर्तौलाले बताए । त्यसमा सडक विकास बोर्डको थप एक करोड ५० लाख रुपैयाँ समेतको काम भइरहेको बताइएको छ । अर्थमन्त्रालयले २ करोड रुपैयाँ बिनियोजन गरेको यो सडकका लागि केही दिनभित्रै बोलपत्र हुनेगरी चालु आर्थिक वर्षको बजेटबाट थप ८ करोड बिनियोजन हुने भएको सांसद बर्तौलाले साझाकुरालाई बताए ।

यो सडकखण्ड हेर्ने सडक डिभिजन कार्यालय काठमाडौंले पर्याप्त बजेट नभएका कारण मर्मतसम्भार गर्न नसकेको बताएको थियो । थानकोट–चन्द्रागिरी–चित्लाङ सडक खण्डको २२ किलोमिटरमध्ये चार किलोमिटर अत्यन्तै जोखिमपूर्ण उकालो रहेकाले त्यसलाई सुधार गरेर कालोपत्रे नगरेसम्म सधैं यात्रुले दुःख पाइरहने अवस्था छ । चार किलोमिटर सडक मात्रै सुधार गर्दा पनि धेरै हदसम्म सडक सुरक्षित र सर्वसाधारणको यात्रा सहज हुने डिभिजन सडकका प्राबिधिकहरु बताउँछन् ।

मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका र काठमाडौं जोड्ने चित्लाङ–चन्द्रागिरि–थानकोट सडकलाई गणेशमान सिंह मार्ग नामाकरण गरिएको छ । २०७३ सालमा सडक निर्माण सुरु गरेको ठेकेदार कम्पनीले निर्माणकार्यलाई भन्दा पनि सडक चौडा बनाउँदा निस्केको ढुंगा बेच्नेतर्फ ध्यान दिँदा चित्लाङ–थानकोट सडक त्यति बेलादेखि अलपत्र परेको थियो । सरकारले २०६२ सालदेखि यो सडक निर्माण सुरु गरेको हो । वडा तहदेखि पालिका, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्यहरुको एकमतले यो योजनामा रकम बिनियोजन गर्न दवाब दिनुपर्ने सांसद बर्तौलाको जोड छ ।

केही समय अघि बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक निर्माणमा चासो देखाउँदै चित्लाङमा सर्वपक्षीय भेला पनि राखेको थियो । भेलामा सहभागी स्थानीयले ठेकेदार कम्पनीको लापरबाहीको कारण सडक निर्माण अलपत्र परेको बताएका थिए । चित्लाङ–थानकोट सडक (गणेशमान सिंह मार्ग) आयोजनाले थानकोट–चित्लाङ मार्गको काठमाडौंतर्फ पानीघाटदेखि देउरालीसम्मको २.५ किलोमिटरको चट्टानी पहाडमा समस्या भएको जनाएको छ ।

आर्थिक वर्ष २०७०÷७१ देखि हालसम्म यो सडकमा अरबौं रुपैयाँ खर्च भइसकेको आयोजनाले जानकारी दिएको छ । नेपालको प्राचीन सडक अर्थात् पुरातात्विक, ऐतिहासिक, धार्मिक महत्वका सम्पदाले भरिपूर्ण चित्लाङ जोड्न भीमफेदी–कुलेखानी–चित्लाङ–थानकोट मार्गको स्तरोन्नतिको लागि प्रदेश सरकारले चासो देखाएपनि सोचेअनुरुपको प्रगति हासिल भएको छैन । थानकोट–चित्लाङ सडकलाई समग्र मकवानपुर र विशेष उत्तरी क्षेत्र थाहानगर, इन्द्रसरोबर गाउँपालिकाले ‘समृद्धि ढोका’को रुपमा लिने गरिएको छ । थानकोट–चित्लाङ सडकमा अनावश्यक राजनीति भएकोले गर्दा बाटो निर्माणमा बजेट ल्याउन नसकेको प्रतिनिधिसभा सदस्य बर्तौला बताउँछन् ।

देशकै प्रमुख पर्यटकीय गन्तव्य थाहानगर र ईन्द्रसरोवरको पर्यटनको विकासका लागि यो सडक छिटो निर्माण गर्न जरुरी छ । त्रिभुवन राजपथ सञ्चालन हुनुपूर्व काठमाडौं उपत्यकाको प्रवेशद्वार चित्लाङ थियो । भीमफेदीको चिसापानीगढीमा राहदानी लिएर मात्र चन्द्रागिरी भएर काठमाडौं उपत्यका प्रबेश गर्न पाईन्थ्यो । संस्कृति र इतिहासको अध्ययन गर्नेहरुका लागि महत्वपूर्ण गन्तव्यका रुपमा रहेको चित्लाङको नाम पहिले चित्रापुर थियो । चैत्य जाने बाटो भएकाले पछि यसको नाम चैतलोङ रहन गएको मान्यता छ । पछि अपभ्रंश भएर यसको चित्लाङ रहन गएको स्थानीयवासी बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*