साहित्य संगमको ३३९ औं साहित्य सन्ध्या
हेटौंडा-साहित्य संगम मकवानपुरको ३ सय ३९ औ साहित्य सन्ध्या मकवानपुरका दिवगंत साहित्यकार खेम बानियाँ स्मृति विशेष भएको छ । साहित्य सर्जकहरुको रचना वाचनका साथै साहित्य र जीवन बिषयक अन्तरसम्वाद आयोजना गरिएको हो ।साहित्य संगमका पूर्वकार्यसमिति सदस्य बानियाँको स्मृति कार्यक्रम गर्दै सुरु गरिएको सन्ध्यामा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले मकवानपुरमा सुत्रकथा भित्र्याउने स्व.बाँनिया भएको बताए ।
नेपालमा ध्रुवचन्द्र गौतमले सूत्रकथाको सुरूवात गरे भने मकवानपुरमा सूत्रकथा भित्र्याउँदै पत्रकारिता, खेलकूद, लेखन, राजनीति बहुविधामा बानियाँ सक्रिय रहेको बताए । मकवानपुरका पहिलो गजल सर्जकका रुपमा स्व. बानियाँले लेखेको हालसम्मको अध्ययनमा देखिएको बताउँदै उनको अल्पायु मै भएको स्वार्गारोहणले मकवानपुरसहित समग्र साहित्यमा अपूरणीय क्षति भएको बताए ।
शनिबारको नियमित सन्ध्यामा बालसाहित्यकार अनुषुया खनालले रचनावाचन गरेकी थिइन् । कार्यक्रममा किशन पौडेल (लघुकथा), एसके निधन (सूत्रकथा), स्वस्तिका बानियाँ, हरि पौड्याल, केशव समर्पण र जुम्लेली स्रष्ट्रा राजबहादुर बुढाले गजल सुनाएका थिए । यसैगरी स्वस्तिका दाहाल, राजकुमार चौधरी, रामहरि चौलागाईं, बैकुण्ठ लामिछाने, सुवास सजल, राजकुमार लामिछाने, छवि अनित्य, मसान उपासकलगायतले कवितावाचन गरेका थिए ।सन्ध्याको अर्काे सत्रमा साहित्य र जीवन बिषयक अन्तरसम्वादमा साहित्यसेवी मुक्तिगोविन्द वैद्य र उमा मैनालीको सहभागिता रहेको थियो ।
संगमका उपाध्यक्ष सानु खनालले सहजीकरण गरेको बहसमा वैद्यले गजल मञ्च मकवानपुरद्वारा हरेक महिना हुने गजलवाचन कार्यक्रममा गजलश्री घोषणा हुने कार्यक्रम नै पहिलोपटक आफूले सुनेको साहित्यिक कार्यक्रम भएको बताए । कार्यक्रममा गजलश्री घोषणा गर्ने तर, सम्मानस्वरुप प्रमाणपत्र समेत नदिएको भन्ने सुनेपछि सहयोग गरेर कार्यक्रमको निरन्तरतामा सहयोग गरेका बैद्यले बताए ।
साहित्य संगम, मातृभूमि साहित्यिक समाज, गजल मञ्च, मुक्तक मञ्च, नवसर्जक साहित्य चौतारीलगायत साहित्यिक संस्थादेखि जेसीस कर्ममा रहँदा मलंगवामा विद्यालय सञ्चालनसम्मका कार्यमा जोडिन पाएकोमा जीवन सफल भएको बैद्यले बताए । कार्यक्रममा संगमद्वारा संचालित पुष्पलाल स्मृति पुस्तकालयलाई साहित्यकार रमेशमोहन अधिकारीले विभिन्न लेखकका पुस्तक हस्तान्तरण गरेका थिए । संगम अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षता भएको कार्यक्रममा सन्ध्यामा ऋषिराम पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा ह्यग्रीव आचार्य, देबराज खरेल, पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्य, शान्ति प्रीयवन्दना लगायतको उपस्थिति थियो ।