विज्ञान शिक्षकलाई तालिम

साझाकुरा
२०८० माघ १४, आईतवार ११:४१

हेटौंडा-मकवानपुरका विज्ञान शिक्षकहरुलाई विशिष्टिकरण तथा मूल्यांकनका विषयमा तालिम दिइएको छ । विज्ञान शिक्षक समाज मकवानपुरको आयोजनामा जिल्लाभरिका विज्ञान शिक्षकलाई कक्षा १ देखि १० को विज्ञान विषयको विशिष्टिकरण तालिका तथा मूल्यांकनका विषयमा अभिमूखीकरण तालिम दिइएको हो । तालिममा विज्ञान शिक्षक समाजका अध्यक्ष खेमराज लामिछानेले कक्षा १ देखि ३ सम्मको मूल्यांकन प्रक्रिया र विज्ञान शिक्षक समाजका सचिव सुवास खनालले कक्षा ४ देखि १० सम्मको मूल्यांकन तथा विशिष्टीकरण तालिकासम्बन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका उप्रमुख सानुकाजी लुइँटेलले विज्ञान शिक्षकले समाजको अँध्यारोलाई चिर्न र रुढीवाद हटाउन चेतना बाँढ्नसक्ने हुनुपर्ने बताए । कार्यक्रममा पत्रकार सुरेश श्रेष्ठले शिक्षकले चाहेमा समाज रुपान्तरणमा महत्वपूर्ण योगदान पु¥याउन सक्ने बताए ।दुई सत्रमा सञ्चालित अभिमूखीकरण कार्यक्रममा जिल्लाका दशवटै स्थानीय तहका ६३ जना शिक्षकले सहभागिता जनाएका थिए । सहभागी तथा प्रशिक्षकलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा सहभागीका तर्फबाट नवोदय शिशुसदनकी अनुष्का श्रेष्ठ र विज्ञान शिक्षक रामकुमार ठाकुरले मन्तव्य राखेका थिए ।

समाजका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षता, जिल्ला समन्वय समितिका उप्रमुख लुइँटेलको प्रमुख आतिथ्यता तथा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिनानाथ गौतमको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा सिद्धार्थ माध्यमिक विद्यालयका प्राचार्य मोहनप्रसाद शर्मा र पेन्टागन एकेडेमीका सञ्चालक गोविन्द चौलागाईँको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*