जिल्लाका सबै वडामा सरसफाइ कार्यक्रम गर्दै कांग्रेस

साझाकुरा
२०८० माघ १६, मंगलवार १२:०४

 हेटौंडा- नेपाली कांग्रेस मकवानपुरले आज मंगलबार माघ १६ गते सहिद दिवसको अवसरमा जिल्लाका सबै वडामा सरसफाइ कार्यक्रमको आयोजना गर्ने भएको छ । कांग्रेस मकवानपुरले ‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत जिल्लाको सबै वडामा सरसफाइ कार्यक्रम गर्ने निर्णय गरेको जिल्ला सचिव भीमसेन महतले जानकारी दिए । जसअनुसार, भोलि बिहान ८ बजे हेटौंडा–१६, हटियास्थित मन्दिर सरसफाई, हेटौंडा–६, चौघडा विपि गणेशपार्क सरसफाई, हेटौंडा–१७, राजदेवी मन्दिर सरसफाई, हेटौंडा–१५ नम्वर वडामा सरसफाई, हेटौंडा १३, स्थित गुम्बामा सरसफाई कार्यक्रमको आयोजना गरिने भएको हो ।

यस्तै, बैठकले माघ १७ गते भीमफेदी गाउँपालिका वडा नम्वर १ सानुटार र हेटौंडा–११ मा पनि सरसफाइ कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो । कांग्रेसको अभियान माघ २६ गतेसम्म सञ्चालन हुनेछ । सो अवधिमा समुदायस्तरमा प्रत्यक्ष साक्षात्कार भई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन तथा आमनागरिकका गुनासा र सुझावलाई वडास्तरबाटै कार्यान्वयन गराउन पहलकदमी गरिनेछ ।

कांग्रेस मकवानपुरले पार्टीका विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरु तथा समग्र कार्यकर्तालाई अभियानमा सक्रिय सहभागी हुन समेत आग्रह गरेको छ । पार्टीका केन्द्रदेखि वडा तहसम्मका पदाधिकारी एवम् सदस्य, विभिन्न भ्रातृ संगठन तथा शुभेच्छुक संस्थामा आबद्ध केन्द्रदेखि स्थानीय तहसम्मका प्रतिनिधिलाई एकसाथ परिचालन गरी यो कार्यक्रम देशैभर भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*