पाँच महिनादेखि हेटौंडा सिमेन्टको उत्पादन शून्य

साझाकुरा
२०८० माघ २०, शनिबार १४:३९

हेटौंडा-सरकारी स्वामित्वमा सञ्चालित हेटौंडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य रहेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कोइला अभाव भएकाले उत्पादन हुन नसकेको उद्योग प्रशासनले जनाएको छ ।

सिमेन्ट उत्पादन नभएपछि प्राविधिक तथा प्रशासनिक कर्मचारी र श्रमिक कामविहीन भएका छन् । विगत चार आर्थिक वर्षदेखि निरन्तर घाटामा रहेको उद्योगबाट सिमेन्ट उत्पादन नहुँदा थप आर्थिक समस्या बढ्दै गएको उद्योगका महाप्रबन्धक बसन्तकुमार पाण्डेले बताए । रकम अभावले कोइला खरिद गर्न समस्या भइरहेको उनको भनाइ छ ।

रकम अभाव भएपछि अवकाशप्राप्त कर्मचारीले पाउने सेवा सुविधासहितको उपदान नपाएको गुनासो आइरहेको छ । उपदान नपाउने कर्मचारीको संख्या १५ रहेको उद्योग प्रशासनले जनाएको छ । दैनिक सात सय पचास मेट्रिकटन सिमेन्ट उत्पादन हुनुपर्ने यो उद्योगबाट असोजदेखि उत्पादन शून्य भएको छ । हाल विगतमा उत्पादित मौज्दात सिमेन्ट बिक्री भइरहेको छ । उद्योग प्रशासनका अनुसार चालु आर्थिक वर्षमा दुई लाख ४९ हजार चार सय ५६ बोरा सिमेन्ट हालसम्म बिक्री भइसकेको छ ।

उद्योगका महाप्रबन्धक पाण्डेले कोइलाको आपूर्ति हुनासाथ काम अगाडि बढाइने बताए । उद्योगले एकपटक बोलपत्र आह्वान गर्दा १३ हजार मेट्रिकटन कोइला आपूर्ति हुने गरेको छ । आव वर्ष २०७६/७७ देखि २०७८/७९ सम्ममा उद्योगलाई ६५ करोड ४७ लाख १६ हजार सात सय ८२ नोक्सान भएको थियो । गत आवमा मात्र २३ करोड ५५ लाख नोक्सान भएको थियो । उद्योग सञ्चालनको माग गर्दै अखिल नेपाल मजदुर संघले आन्दोलन गरिरहेको छ । उद्योगमा हाल ज्यालादारी तथा स्थायी गरी करिब तीन सय कर्मचारी कार्यरत रहेका छन् । यसैबीच हेटौंडामा निजी क्षेत्रबाट सञ्चालित शिवम् र ऋद्धिसिद्धि सिमेन्ट उद्योग निन्तर सञ्चालित छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*