गौरीटारमा रौनक

साझाकुरा
२०८० माघ २४, बुधबार ०८:०५

हेटौंडामा जारी छैठौं संस्करणको स्थानीय तह शहीदस्मृति मकवानपुर गोल्डकपका कारण गौरीटार रंगशाला पुनः गुल्जार हुँदै गएको छ । गौरीटार रंगशालामा भएको खेलका कारण २०३९ पछिका दिनमा करिव ४ दसकपछि गुल्जार हुँदै गएको हो । २०३९ सालमा प्रथम अन्तरनगर खेलकूद प्रतियोगिता संचालन भएको गौरीटार रंगशालामा यतिबेलासम्म धेरै संरचना निर्माण भइसक्नु पर्ने थियो । यसअघि श्रमिक मावि कर्राबाट आइसोलेसन हटाउने निर्णयअनुसार गौरीटारको केन्द्रीय खेलकुद प्रतिष्ठान (रंगशाला) को छात्रावास भवनमा स्थानान्तरण गरिएको थियो । रंगशालको छात्रावाससँगै रहेको कभर्डहलमा समेत संक्रमित राखिएको थियो । गौरीटारमा संघीय सरकारको करिब १० करोड रुपैयाँ खर्च भइसकेको छ । प्रतिष्ठानमा फुटबल मैदान, कभर्डहल, पौडीपोखरी, महिला तथा पुरुषको छुट्टाछुट्टै आवास कक्ष, रिक्रिएसन कक्ष, औषधोपचार कक्ष र प्रशासनिक भवन निर्माण गर्ने योजना छ । प्रदेश सरकारले आफनो गौरवको योजनाअन्तर्गत बहुवर्षे योजनाको रुपमा प्रतिष्ठानलाई अगाडि बढाएको छ ।

२३ बिघा जमिनमा फैलिएको प्रतिष्ठानमा खेलाडी बसोबास गर्ने सुविधायुक्त छात्रावासको निर्माण गरिएको छ । ३८ कोठाको छात्रावासमा एकसय २० खेलाडी सजिलै अट्ने छन् । खेलाडीका लागि क्यान्टिन पनि तयारी भइसकेको छ । प्रतिष्ठानभित्र विद्युत र पानीको व्यवस्था गरिएको छ । तत्कालीन अवस्थामा ३ अर्ब लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्यसाथ २०६६ जेठ २८ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिष्ठानको शिलान्यास गरेका थिए । तीन वर्षभित्र प्रतिष्ठानको निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको थियो तर, बजेट अभावको कारण देखाउँदै सरकारले हालसम्म पूर्बाधारका काम सुरु मात्र गरेको छ । केन्द्रीय प्रतिष्ठान निर्माणका लागि हालसम्मका सरकारले एकेडेमीका लागि खासै बजेट छुट्याएका छैन । जसले गर्दा निर्माण कार्य अगाडि बढ्न सकेन । हेटौंडामा खेलकुद प्रतिष्ठान निर्माण गरेर राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको थियो । ६ वटा प्रशासनिक रुम भएको भवनमा क्यान्टिन, कन्फरेन्सहलहरु सदुपयोग हुन सकेको छैन । रंगशाला निर्माण गर्ने भनेर तत्कालीन माधव नेपालको सरकार तामझामसहित शीलान्यास गरेको भएपनि त्यसपछि करिव १५ वर्षको अवधिमा कूल लागतको १० प्रतिशत पनि रकम बिनियोजन गर्न सकेन । १५ वर्ष अघिको ३ अर्ब रुपैयाँमा हुने विकास निर्माण कार्य अहिले त्यो रकममा निर्माण सम्भव छैन । नेपालमा खेल क्षेत्रमा सरकाले लगानी गर्न सकेको छैन भन्ने कुराको प्रमाण यो गौरीटारको रंगशाला पनि हो ।

कूल बजेटको १ प्रतिशत मात्रै खेल क्षेत्रलाई छुट्याइदिने हो भने नेपाली खेलाडीले धेरै राम्रा काम गर्ने थिए । तर, खेल क्षेत्रमा लागेर परिवार पाल्न सक्ने अवस्था नै नभएपछि खेलाडी पलायन रोकिएको छैन । राम्रो खेलाडीलाई टिकाउने सरकारसँग कुनै योजना पनि छैन । सुरक्षा निकायमा जागिरे भएका खेलाडीले परिवार पाल्न बाहेक अरु उपलब्धी हासिल गर्न सकेका छनैनन् । सरकारको ध्यान खेलक्षेत्रमा जानै सकेको छैन । स्थानीय सरकारले पनि अध्यक्ष कप र उपाध्यक्ष कप प्रतियोगिता संचालन गर्नेबाहेक खेलाडी उत्पादन गर्ने योजना ल्याउन सेकेका छैनन् । खेलाडी उत्पादन गर्न विद्यालय तहमै लगानी बढाउनु जरुरी छ । विद्यालयमै खेलमैदान निर्माण गर्नु जरुरी छ । तर, राष्ट्रपति रनिङशील्ड बाहेक विद्यालय तहमा कुनै खेलकूद प्रतियोगिता संचालन हुन सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*