ट्राफिक कारबाहीबाट एक करोड रुपैयाँ राजस्व संकलन

साझाकुरा
२०८० माघ २४, बुधबार ०८:००

हेटौंडा-मकवानपुरमा ट्राफिक कारबाहीबाट एक करोड १६ लाख रुपैयाँ राजस्व संकलन भएको छ । पछिल्लो छ महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले मकवानपुरमा गरेको ट्राफिक कारबाहीबाट यो रकम संकलन गरेको हो ।

ट्राफिक कारबाहीबाट चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कुल एक करोड १६ लाख चार हजार रुपैयाँ राजस्व संकलन गरेको ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख एवम प्रहरीनिरीक्षक वसन्त आचार्यका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने १५ हजार ८५५ सवारी साधनको कारबाहीबाट यो राजस्व असुल भएको हो ।

गत आर्थिक वर्ष २०७९/८० मा तीन करोड ६९ लाख ६७ हजार रुपैयाँ ट्राफिक कारबाहीबाट राजस्व रकम संकलन भएको थियो । यो वर्ष छ महिनाको अवधिमा आधाभन्दा कम रकम संकलन भएको ट्राफिक प्रहरीप्रमुख आचार्यले बताए । ट्राफिक सचेतना फैलाएसँगै जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने क्रम घटेकाले राजस्वको रकम संकलनमा पनि कमी आएको आचार्यको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बिनाअनुमति सवारी चलाउने, सवारी साधनको कागजात ठीक नभएका वा अवैध कागजात भएको, मादकपदार्थ सेवन गरेर सवारी चलाउनेलगायतलाई गरिएको कारबाहीबाट राजस्व असुल गरिएको हो । चालु आवमा सबैभन्दा बढी मङ्सिर महिनामा २७ लाख २४ हजार रुपैयाँ तथा सबैभन्दा कम साउन महिनामा १२ लाख १२ हजार राजस्व संकलन भएको छ । ट्राफिक कारबाहीमा सबैभन्दा बढी मोटरसाइकल चार हजार ७४४ र सबैभन्दा कम ट्याक्टर २९४ कारबाहीमा परेको तथ्यांक छ ।

चालु आवको छ महिनामा तोकिएको क्षमताभन्दा बढी भार (ओभरलोड) बोक्ने एक हजार ५६४ सवारीलाई कारबाही गरिएको छ । ओभरलोड बोक्ने एक हजार ५२६ सवारी कारबाहीबाट १५ लाख ७१ हजार रुपैयाँ र यातायात कार्यालयमार्फत् ३८ सवारी कारबाहीबाट ६ लाख २६ हजार ६४५ रुपैयाँ राजस्व संकलन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख आचार्यले ओभरलोडका कारण दुर्घटना हुनुका साथै सडकसमेत बिग्रिएकोले ओभरलोड नियन्त्रण गर्न प्रहरी लागि परेको बताए ।

ट्राफिक प्रहरीले आव २०७७/७८ मा ३२ हजार २३९ सवारी कारबाहीबाट दुई करोड ७१ लाख ६ हजार ५००, आव २०७८/७९ मा ३० हजार ३२७ सवारी कारबाहीबाट दुई करोड ३६ लाख ९० हजार ५०० र आव २०७९/८० मा ४७ हजार ८९९ सवारी कारबाहीबाट तीन करोड ६९ लाख ६७ हजार राजस्व संकलन गरेको तथ्यांक छ । गत आवको तुलनामा चालु आवको छ महिनाको तथ्यांकलाई आधार मान्दा सवारी साधन कारबाही संख्या र राजस्व दुवै आधा घटेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*