गोल्डकप फाइनल आजः उपाधि होडमा एपीएफ र एनआरटी

साझाकुरा
२०८० माघ २७, शनिबार १२:३२

हेटौंडा–छैठौं स्थानीय तह शहीदस्मृति मकवानपुर गोल्डकपको फाइनल खेल शनिवार गौरीटार रंगशालामा हुँदैछ । उपाधिका लागि विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यूरोड टिम (एनआरटी) फुटबल क्लबले मैदानमा संघर्ष गर्नेछन् । एपीएफ र एनआरटी आफैंमा पुराना प्रतिस्पर्धी हुन् । एपीएफ र एनआरटी दुवैले यसअघि मकवानपुर गोल्डकपको उपाधि जित्न सकेका छैनन् । शुक्रबार हेटौंडामा भएको प्रि–म्याच कन्फ्रेन्समा एपीएफ र एनआरटीका प्रशिक्षक र कप्तानले पहिलोपटक उपाधि जितेर मकवानपुर गोल्डकपमा नाम लेखाउन तत्पर रहेको सुनाएका छन् ।

१३ माघ २०८० मा इलाममा भएको प्रथम ‘एनआरएनए इलाम गोल्डकप’को उपाधि जितेको एनआरटी सिजनको लगातार दोस्रो उपाधि जित्ने दाउमा छ । एनआरटीका प्रशिक्षक जीवन सिकेंमानले एक खेलमा ३–० को स्पष्ट जित र दुई खेलमा टाईब्रेकरमा विजयी हुँदै फाइनल आइपुगे पनि खेलाडीप्रति विश्वास गर्दै उपाधि जित्नेमा ढुक्क देखिए । ‘एपीएफ राम्रो स्थितिमा छ । एनआरटी पनि उपाधिका लागि कमजोर टिम हैन, उत्कृष्ट खेलाडी छन् । सायद फाइनललाई यिनीहरुले गोल बचाइराखेका होलान् ।’, सिंकेमानले भने ।

एनआरटीले प्रि–क्वाटरफाइनलमा हिमालयन शेर्पालाई ३–० र क्वाटरफाइनलमा चर्चब्वाइजसँग निर्धारित समयमा २–२ को बराबरी खेल्दै टाइब्रेकरमा ४–३ को जित निकालेको थियो । गोल्डकपको दुईपटकको विजेता र २० माघमा पोखरामा भएको आहारारा गोल्डकपको उपाधि जितेको त्रिभुवन आर्मीलाई हराएको राजारानी धनकुटासँग टाइब्रेकरसहित सडनडेथको १७ औं गोलमा एनआरटी भाग्यशाली बन्दै फाइनल पुगेको थियो ।

एनआरटीलाई फाइनलमा रोक्न एपीएफले भरपुर प्रयास गर्ने प्रशिक्षक सुमन श्रेष्ठले बताए । प्रि–म्याच कन्फ्रेन्समा बोल्दै श्रेष्ठले एपीएफ राम्रो लयमा रहेकोले उपाधि जित्नेमा विश्वस्त देखिए । प्रशिक्षकको रुपमा श्रेष्ठको दोस्रो फाइनल स्पर्धा हो । पाँचौं संस्करणमा हिमालयन शेर्पाको प्रशिक्षक थिए श्रेष्ठ । शेर्पा मनाङ मर्याङ्दीसँग पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो ।

जारी गोल्डकपमा एपीएफ एक खेल टाइब्रेकर र दुईवटा प्रतिस्पर्धामा फराकिलो अन्तरले विजयी हुँदै उपाधि नजिक पुगेको हो । एपीएफले प्रि–क्वाटरफाइनल खेलमा मछिन्द्र क्लबसँग निर्धारित १–१ को बराबरीसँगै टाइब्रेकरमा ४–३ गोलले विजयी बनेको थियो । एपीएफ क्वाटरफाइनलमा थ्रीस्टारलाई ४–० र सेमिफाइनलमा बागमती क्लब सर्लाहीलाई ४–० को फराकिलो जित निकाल्दै एनआरटीसँगको भेट पक्का गरेको थियो ।

२०६२/६३ को जनआन्दोलनका शहीदको स्मृतिमा २०६४ मा आयोजित गोल्डकपको पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो । त्यसपछि १३ वर्षसम्म प्रतियोगिता सञ्चालन हुन सकेन । प्रतियोगिताका लागि २०७७ सालबाट जिल्लाका १० वटा स्थानीय तहले निरन्तर सहयोग गर्ने भएपछि मकवानपुर फुटबल संघले ‘स्थानीय तह शहीदस्मृति गोल्डकप’ नामकरण गरी प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ ।

२०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । २०७७ सालमा भएको तेस्रो संस्करण र त्यसपछिको चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो । पाँचौं संस्करणको उपाधि मनाङ मर्याङ्दीले जितेको हो । यसवर्षदेखि गोल्डकपको सहयोगीमा बागमती प्रदेश सरकार पनि थपिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय र जिल्लाका १० वटै पालिकाले प्रायोजन गरेको गोल्डकपको विजेताले १५ लाख रुपैयाँसहित शिल्ड, उपविजेताले १० लाखसहित शिल्ड र सर्वोत्कृष्ट खेलाडीले करिब साढे ५ लाख बराबरको बुलेट मोटरसाइकल पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*