समन्वय अभावको नतिजा

साझाकुरा
२०८० चैत्र १८, आईतवार ०८:००

मयुरधापको जग्गामा औद्योगिक प्रतिष्ठान निर्माण गर्ने सम्भावना न्यून भएपछि उपत्यकाबाट प्रदुषणयुक्त उद्योग सार्ने सरकारको योजना अलपत्र बनेको छ । हेटौंडाको मयुरधापमा काठमाडौंको बालाजु, पाटन र भक्तपुरका औद्योगिक क्षेत्रभित्र रहेका करिब दुई सय उद्योग स्थानान्तरण गर्र्ने सरकारको योजना अलपत्र बनेको हो । औद्योगिक क्षेत्र सार्ने सरकारको नीति र औद्योगिक क्षेत्र वरपरका स्थानीयको माग भएपनि कार्यान्वयन हुन सकेको छैन । बालाजु, पाटन र भक्तपुरमा सञ्चालित औद्योगिक क्षेत्रको जीर्ण पूर्वाधार, घनाबस्तीको बीचमा सुरक्षाजोखिम र प्रदुषणको असरलगायत कारणले औदोगिक प्रतिष्ठान स्थानान्तरण गर्नुपर्ने आवाज उठ्दै आएको धेरै समयं भयो । यी क्षेत्रका उद्योगलाई कहाँ, कसरी र कहिले सार्ने ट्ङ्गो लाग्न सकेको छैन ।

पहिलोपटक आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यमार्फत् सरकारले उपत्यकाभित्रका उद्योग हेटौंडाको मयुरधापमा सार्ने नीति सार्वजनिक गरेको थियो । दुई वर्षभित्र उपत्यकामा रहेका औद्योगिक क्षेत्रलाई उपत्यका बाहिर स्थानान्तरण गर्ने व्यवस्था मिलाइने बजेटमा उल्लेख थियो । बालाजु, पाटन र भक्तपुर औद्योगिक क्षेत्रका उद्योगलाई हेटौंडाको मयुरधापमा सार्ने योजनाको घोषणा सरकारले गरेको हो । तर, मयुरधाप औद्योगिक क्षेत्र आफैं बन्ने नबन्ने ट्ङ्गो नलाग्दा उद्योग सार्ने योजना कार्यान्वयन हुन नसकेको हो । बागमती प्रदेशको आर्थिक ऐन, २०७९ मा काठमाडौं उपत्यकाभित्रका उद्योगले बागमती प्रदेशका अन्य जिल्लामा उद्योग स्थानान्तरण गरेमा उद्योगको नाममा जग्गा खरिद गर्दा लाग्ने घरजग्गा रजिष्ट्रेसन शुल्कमा ५० प्रतिशत छुट दिने उल्लेख छ । बागमती प्रदेश सरकारको चालु आर्थिक वर्षको आर्थिक ऐनमा पनि यो व्यवस्था गरिएको छ । तर, उद्योग आफैं उपत्यका छोडेर जान नचाहँदा सरकारको नीति प्रभावकारी देखिएन । उपत्यकाभित्रका औद्योगिक क्षेत्र सार्ने तत्काल कुनै योजना नरहेको अधिकारीहरु बताउँछन् । केही समयअघि यो विषय आएको थियो । तर, मयुरधापमा औद्योगिक क्षेत्र निर्माणबारे अन्यौलता देखिएपछि उपत्यका भित्रका उद्योगलाई बाहिर सार्ने योजना अगाडि नबढेको बताइएको छ । बालाजु औद्योगिक क्षेत्रमा एक सय ३५, पाटनमा एक सय ११, भक्तपुरमा ३८ वटा उद्योग सञ्चालनमा छन् । मयुरधाप औद्योगिक क्षेत्र आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) अझै स्वीकृत हुन सकेको छैन । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएकै कारण मयुरधापमा औद्योगिक क्षेत्र बन्ने हो वा होइन भन्नेसमेत ट्ङ्गो लागेको छैन ।

उपत्यकाको घनाबस्तीकाबीचमा उद्योगबाट सिर्जित प्रदुषणको असर, दशकौं पूराना संरचना जीर्ण अवस्थामा पुग्दासमेत मर्मतसम्भार नहुनु, उद्योगका लागि नवीनतम प्रविधि जडान गर्न नसक्नुलगायत कारण औद्योगिक क्षेत्र सार्नुपर्ने आवश्यकता महसुस भएको थियो । मुलुकको पहिलो औद्योगिक क्षेत्रका रुपमा रहेको बालाजु औद्योगिक क्षेत्र स्थापना भएको ६० वर्ष बित्यो । काठमाडौं औद्योगिक क्षेत्रमा औद्योगिक फोहोर व्यवस्थापनको समस्या छ । ढल व्यवस्थापनको पनि समस्या रहेको छ । धेरै वर्षअघि बनेका यी औद्योगिक क्षेत्रमा ढल व्यवस्थापनका लागि अब खाली जग्गा छैन । धुवाँ, धुलो निस्किने उद्योगमा अलिकति धुवाँ आउने बित्तिकै स्थानीयले गुनासो गर्ने गरेका छन् । विद्युत्, पानीलगायतका पूर्वाधार पनि जीर्ण अवस्थामा रहेका कारण औद्योगिक प्रतिष्ठान स्थानान्तरण गर्नुको बिकल्प छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*