बागमती सरकारमा एमाले, थपलिया बने आर्थिक मामिलामन्त्री

हेटौंडा-एक वर्षपछि नेकपा एमाले बागमती प्रदेश सरकारमा फर्किएको छ । शनिवार सरकारमा सहभागी एमालेसँग एकवर्षको अन्तरालमा एउटा संयोग मिल्न गयो ।
यसअघि २६ पुस ०७९ मा एमाले सरकारमा सहभागी भएको थियो । अढाई महिनामात्रै सरकारमा बसेर चार जना मन्त्रीले राजीनामा दिनुपरेको थियो । जसको कारण थियो, गठबन्धनमा फेरबदल आउनु । वर्ष दिन अघि गठबन्धनकै कारण सरकार छोड्न विवश एमाले अहिले गठबन्धन फेरबदलकै जगमा सरकारमा पुगेको हो । एमालेलाई सरकारबाट बाहिर पठाउने र फेरि पुर्याउने पात्र भने एउटा हुन्, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।
नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्डले गठबन्धन फेरबदल गरिरहँदा बागमती प्रदेश सरकारमा पनि त्यसको असर परेको हो । बागमती प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले शनिवार साँझ पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेशप्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम थपलियालाई आर्थिक मामिलामन्त्रीको सपथ गराए । थपलिया दोस्रो पटक आर्थिक मामिला मन्त्री बने । यसअघि २६ पुस २०७९ मा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उनलाई आर्थिक मामिलामन्त्री नियुक्त गरेका थिए ।
गठबन्धनमा फेरबदल आएसँगै थपलियाले छोटो अर्थात अढाई महिनामै सरकार छोड्नु परेको थियो । १० चैतमा राजीनामा दिएर सरकारबाट बाहिरिएका थपलियाले गठबन्धन फेरबदलकै कारण फेरि मन्त्री बन्ने अबसर पाएका हुन् । चितवनका थपलिया प्रदेशको पहिलो कार्यकालमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका प्रमुख राजनीतिक सल्लाहकार थिए ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नयाँ सत्ता समीकरणअनुसार बागमतीमा दोस्रो पटक सरकार विस्तार गरेका हुन् । यसअघि १५ चैतमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त भएका थिए । १९ चैतमा प्रदेशसभाबाट विश्वासको मत लिइसकेपछि जम्कट्टेलले सरकार विस्तारलाई तीव्रता दिने उनी निकट स्रोतले जानकारी दिएको छ ।
नेकपा एमालेले नेपाली कांग्रेसले छोडेका ६ वटा मन्त्रालयमध्ये ५ वटामा दाबी गरेको छ । रिक्त ६ वटा मन्त्रालयमध्ये हाम्रो नेपाली पार्टीका बज्राचार्यले एउटा लिइसकेका छन् । १२ सदस्यी प्रदेश मन्त्रिपरिषद्को बागमती सरकारमा माओवादी केन्द्रले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूवार्धार विकास मन्त्रालय, सामाजिक विकास गरी ४ वटा मन्त्रालय सम्हालिरहेको छ ।
नेकपा (एकीकृत समाजवादी)ले श्रम, रोजगार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिएको छ । अब बाँकी ४ वटा मन्त्रालयमा एमालेले दाबी गरेको एक सांसदले जानकारी दिए । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, खानेपानी, उर्जा तथा सिचाईं मन्त्रालय र स्वास्थ्य मन्त्रालय मुख्यमन्त्री जम्कट्टेलसँग छ ।
को हुन् थपलिया ?
चितवन निर्वाचन क्षेत्र नं १ को प्रदेश क्षेत्र (क) बाट थपलिया निर्वाचित भएका थिए । ४ मंसिर २०७९ मा प्रतिनिधिसभा निर्वाचन लड्न खोजेपनि सुरेन्द्र पाण्डेले टिकट ल्याएपछि उनी प्रदेशसभामा झरेका थिए ।
प्रदेशमा निर्वाचन जित्दा उनलाई आर्थिक मामिला तथा योजना मन्त्री हात लाग्यो । २० साउन २०१३ मा जन्मिएका उनका बुवा धर्मानन्द थपलिया र आमा प्रममाया थपलिया हुन् । उनको राजनीतिक यात्रा २०२८ बाट सुरु भएको हो । दोलखाको खिमावती माविको स्ववियु सचिव बनेका थपलिया २०३२ सालसम्म पार्टी कोअर्डिनेशन केन्द्रमा आबद्ध भइसकेका थिए । २०३६ सालमा मिनभवन क्याम्पसको स्ववियु सभापति भएको थपलिया बताउँछन् ।
थपलिया २०३९ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को केन्द्रीय सचिव भए । उनले ०४०–४४ सम्म जेल परेका थिए । माओवादीको सशस्त्र आन्दोलनका बेला पटक/पटक अपहरणमा परेको उनी सम्झन्छन् । शिक्षण पेसाबाट जागिरे जीवनको सुरुवात गरेका उनी २०६५ देखि २ वर्ष चितवनको सप्तगण्डकी बहुमुखी क्याम्पसको प्रमुख थिए । थपलियाले व्यवस्थापन संकायमा स्नात्तकोत्तरसम्म अध्ययन पूरा गरेका छन् ।
लामो समय नेकपा एमाले चितवन जिल्ला कमिटीमा रहेर काम गरेका उनी २०७० देखि २०७४ सम्म ४ वर्ष एमाले जिल्ला कमिटीको नेतृत्वमा थिए । १४ पुस २०७९ मा थपलिया नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता चयन भएका थिए । थपलिया हाल नेकपा एमालेको केन्द्रीय सदस्य, भरतपुर महानगरपालिका इन्चार्ज एवम् पार्टीको केन्द्रीय शिक्षा विभाग उप–प्रमुखको जिम्मेवारीमा छन् ।