खानेपानी मन्त्री श्रेष्ठ विद्यालयको भर्ना अभियानमा सक्रिय

साझाकुरा
२०८१ बैशाख ७, शुक्रबार ०८:१२

हेटौंडा–मकवानपुरमा नयाँ शैक्षिक सत्र २०८१ को भर्ना अभियान चलिरहेको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित भर्ना अभियान सञ्चालन भइरहेको हो ।

बागमती प्रदेशका खानेपानी उर्जा तथा सिचाईं मन्त्री एकालाल श्रेष्ठ पनि भर्ना अभियानमा सहभागी भएका छन् । बिहीवार मन्त्री श्रेष्ठले हेटौंडा–१२ स्थित बुद्ध माविको घरदैलो कार्यक्रममा सहभागिता जनाए । विद्यालयले प्रचारात्मक शैलीमा हेटौंडा–१२ को पान्तले, भोर्ले, हात्तीगौंडा, बनेलधापटोललगायतको स्थानमा घरदैलो गरी विद्यालय जाने उमेरका बालबालिकालाई भर्ना गराउन अभिभावकलाई आग्रह गरेको छ ।

अभियानको क्रममा मन्त्री श्रेष्ठले अभिभावकसँग साक्षत्कार गरी विद्यार्थीलाई विद्यालयमा अनिवार्य पठाउन आग्रह गरेका छन् । उनले विद्यार्थी भर्ना अभियान तीव्र बनाउन विद्यालय व्यवस्थापन समितिले विद्यार्थी र अभिभावकसँगको छलफललाई अगाडि बढाउनुपर्ने बताए । राज्यले ठुलो लगानी गरेको सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या सहित गुणस्तर पनि बढाउनुपर्नेमा उनको जोड छ । मन्त्री श्रेष्ठले विद्यालयको भौतिक पूर्वाधार विकासको लागि बागमती प्रदेश सरकार गुरुयोजनाको साथ अघि बढेको दाबी गरे ।

समुदायसँग जोडिनको लागि पनि शैक्षिकक्षेत्रको गुणस्तर अभिवृद्धि हुनुपर्ने उनको भनाई छ । जनजाति समुदायको बाहुल्य रहेको यो क्षेत्रमा विद्यार्थी भर्ना कम हुने र विद्यार्थी ड्रप आउटको समस्यापनि रहेको भन्दै मन्त्री श्रेष्ठले भर्ना अभियानमा सबैको भूमिका अनिवार्य रहेको बताए । भर्ना अभियानमा सबैभन्दा ठूलो भूमिका स्थानीय तह, शिक्षक र विद्यालय व्यवस्थापन समितिको रहने भन्दै मन्त्री श्रेष्ठले भर्ना अभियानसँगै विद्यालयको शैक्षिक गुणस्तरमा पनि ध्यान दिन जरुरी रहेको बताए ।

विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षासम्बन्धी मौलिकहक कार्यान्वयनको सुनिश्चितता गर्न प्रदेश सरकार लागिरहेको उनले जनाए । यसैगरी विद्यालयका प्रध्यानाध्यापक किसन थापाले सामुदायिक विद्यालयको भौतिक विकास अझैपनि सोचे अनुरुप हुन नसकेको बताएका छन् । उनले कम्प्युटर ल्याव, खेलमैदानको व्यवस्थापनको लागि आफूहरुले विगतदेखि नै प्रदेश र स्थानीय सरकारलाई अनुरोध गर्दै आएको बताए । कक्षा १० सम्म अध्यापन हुने यो विद्यालयमा हाल ६ सय ५० जना विद्यार्थी अध्ययनरत् छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*