बागमतीका स्वास्थ्यमन्त्रीले भने, ‘नर्सबिना अस्पतालको कल्पनै हुनसक्दैन’

साझाकुरा
२०८१ बैशाख ८, शनिबार ०८:००

हेटौंडा–बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले नर्सबिना कुनैपनि अस्पतालको परिकल्पना गर्न नसक्ने धारणा राखेका छन् ।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको आयोजनामा बिहीवारबाट सुरु भएको ‘चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक अवधिसम्मको समिक्षा तथा आगामी आर्थिक वर्ष २०८१/८२ को योजना तर्जुमा गोष्ठीको समापनलाई सम्बोधन गर्दै उनले अस्पताललाई नर्स अपरिहार्य रहेको बताएका हुन् । नर्सको महत्व अस्पतालको सेवासुविधासँग जोडिएको विषय भएको उनको भनाई छ ।

अस्पताल व्यवस्थापनका विषयमा विशेषज्ञ डाक्टरको मात्रै कुरा उठ्ने र तालिममा पनि नर्सको सहभागिता कम भएको मन्त्री श्रेष्ठको भनाई छ । डाक्टर मात्र भएर अस्पताल व्यवस्थित हुन नसक्ने उनको जिकिर छ । समाजिक न्यायको विस्तार गर्दै डाक्टर र नर्सलाई समान अवसर प्रदान गर्न उनको आग्रह छ । डक्टरले पाएको सुविधा नर्सलाई पनि बाड्न कञ्जुसाई गर्न नहुने उनले बताए । आगामी दिनमा बजेट बाँडफाँडको क्रममा उनीहरुलाई नछुटाउन श्रेष्ठले निर्देशन दिए ।

नेपाल सरकारले दिएको सुविधालाई समान रुपमा प्रयोग गर्न र संस्थाको सम्पूर्ण विकासमा समानता हुन आवश्यक भएको उनले बताए । औषधिको प्रयोग गर्दा अनावश्यक खर्च नगर्न चिकित्सकलाई सुझाव दिनुका साथै औषधिको गुणस्तरलाई पनि ध्यान दिन निर्देशन दिए । प्राप्त बजेटबाट थोरै कार्यक्रम गर्न सकिए पनि त्यसमा गुणस्तरीयता कायम गर्दै नागरिकले अनुभूति गर्न सक्ने गरी काम गर्नुपर्नेमा उनको जोड छ । चिकित्सकलाई आफ्नो क्षमता अधिकतम स्वास्थ्य क्षेत्रमा लगाउन र काम गर्ने दौरानमा आर्थिक मुनाफाको पछि नलाग्न उनको निर्देशन छ ।

गोष्ठी स्वास्थ्य निर्देशनालयका निर्देशक दीपक तिवारीको अध्यक्षतामा भएको छ । दुईदिनसम्म सञ्चालित कार्यक्रममा विभिन्न अस्पतालका प्रमुखहरुले आफ्ना प्रस्तुतीकरण गर्नुका साथै आगामी २०८१/८२ का लागि रणनीतिक महत्वका योजनाका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, स्वास्थ्य निकायका निर्देशक, प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्ट, जनस्वास्थ्य कार्यलयका प्रमुख र जिल्ला आयुर्वेद स्वास्थ्यकेन्द्रका प्रमुखलगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*