बागमती सरकारले स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने

साझाकुरा
२०८१ बैशाख ९, आईतवार ०८:१५

हेटौंडा–बागमती प्रदेश सरकारका वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेलले स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् ।

चितवनको नारायणगढमा सुरु भएको तेस्रो जुत्ता–चप्पल महामेला २०८१ को उद्घाटन गर्दै मन्त्री पोखरेलले स्वदेशमा उत्पादन भएको बस्तुको प्रवद्र्धनमा सरकार तयार रहेको बताएका हुन् । स्वदेशमा उत्पादन भएको वस्तुको बजारिकरण लगायतका समस्याको समाधानमा नीतिगतरुपमै निर्णय गरेर अघि बढ्ने उनको भनाई छ । उनले देशको आर्थिक विकासमा निजीक्षेत्रले खेलेको भूमिकाको सम्मान गर्दै सरकारबाट महशुस गरिएका सरकारी झमेला समाधान गर्न पहल गरिने बताए ।

हाल देखिएको आर्थिक मन्दीको समस्या समाधानमा सबै मिलेर अघि बढ्नुपर्ने उनको भनाई छ । ‘स्वदेशी उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नाराको साथ चितवनको चमेलीबजारमा सुरु भएको तेस्रो चितवन जुत्ता–चप्पल महामेला ३० बैशाखसम्म चल्ने आयोजकले जनाएको छ । मेलामा देशमा उत्पादन भएका विभिन्न ब्राण्डका लेडिज तथा जेन्स जुत्ता चप्पल खरिदमा १५ प्रतिशत देखि ५० प्रतिशतसम्म छुट रहेको र एक हजार पाँच सय रुपैयाँ भन्दा बढीको खरिदमा एकजोर चप्पल निःशुल्क पाइने आयोजकको भनाई छ ।

नेपाली जुत्ता चप्पलका अध्यक्ष होमनाथ न्यौपानेले स्वदेशी उत्पादनको पहुँच पुर्याउन नेपालका प्रमुख सहरमा नेपाली उत्पादनका आउटलेट विस्तार गर्दै लगिएको बताए । ‘नेपाली उत्पादन सहर केन्द्रित नभई ग्रामीण भेगलक्षित गर्नु हाम्रो जिम्मेबारी पनि हो । यसलाई सर्वसुलभ बनाउन हामी प्रयत्नरत छौं ।’ न्यौपानेले भने । कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी, नेपाल होटल व्यवसायी महासंघ, उद्योग वाणिज्य संघ चितनका उपाध्यक्ष नारायण प्रधानलगायतले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने जोड दिएका थिए । नारायणगढको चमेली बिगबजारमा भएको मेलामा ७ ओटा स्वदेशी उद्योगबाट उत्पादित तीन हजारभन्दा बढी प्रकारका जुत्ता चप्पल पाइनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*